प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रदर्शनका क्रममा देशभरका ४ सय ६५ प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।
काठमाडौँ — जेन-जी प्रदर्शनका क्रममा क्षति पुगेकामध्ये २८ प्रहरी कार्यालय अझै सञ्चालनमा आएका छैनन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रदर्शनका क्रममा देशभरका ४ सय ६५ प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।
तीमध्ये १ सय १८ पूर्ण रूपमा ध्वस्त र ३ सय ४७ आंशिक रूपमा क्षतिग्रस्त भएका थिए। हालसम्म अधिकांश पुनः सञ्चालनमा आए पनि २८ प्रहरी कार्यालय भने अझै सञ्चालनमा आउन बाँकी छन्।
प्रहरीका अनुसार क्षतिग्रस्त कार्यालयमध्ये उपत्यकाका मात्रै १९ प्रहरी कार्यालय सञ्चालनमा आउन बाँकी छन्। यस्तै कोशी प्रदेशमा ४, मधेश प्रदेशमा २, बागमती प्रदेशमा ३ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जेन-जी प्रदर्शनमा सबैभन्दा बढी क्षति पनि उपत्यकामा नै पुगेको थियो । यहाँका ६४ पूर्ण र १४६ आंशिक गरी २१० प्रहरी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार क्षति पुगेका धेरै संरचनाहरू स्थानीयको सक्रियता र सहयोगमा पुनः सञ्चालनमा आएका छन्। घिमिरेका अनुसार सञ्चालनमा नआएका प्रहरी कार्यालयहरूले पनि वैकल्पिक भवनको व्यवस्था गरेर सेवा निरन्तरता दिएका छन् ।
‘केही प्रहरी कार्यालयहरू नजिकका ठूला प्रहरी कार्यालयमा जोडिएर सेवा दिएका छन् भने कसैले वैकल्पिक भवनहरू खोजेर राखिएको छ,’ घिमिरेले भने,‘ यद्यपि पूर्ण क्षति भएका प्रहरी भवनले पनि सेवा प्रदान गरिरहेका छन् ।’
