भाटभटेनीमा जलेको अवस्थामा भेटिएका १२ शवको पहिचान अझै हुन सकेन

काठमाडौंको चुच्चेपाटीमा ७, धरानमा ४ र मोरङस्थित भाटभटेनीमा १ जनाको शव भेटिए पनि आफन्तको भएको दाबीसहित कोही पनि आएका छैनन् ।

कार्तिक ११, २०८२

सुदीप कैनी

The identities of the 12 bodies found in a burnt state in Bhatbhateni have not yet been revealed.

What you should know

काठमाडौँ — भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, धरान* र मोरङको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ वटा शवको डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन ।

जलेको अवस्थामा मानव कंकाल भेटिएकाले पोस्टमार्टम र डीएनए परीक्षणसमेत हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती शव आफन्तको भनेर दाबी गर्न कोही पनि सर्म्पकमा पनि आएका छैनन् ।

चुच्चेपाटीमा भेटिएका ७ वटा शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । धरानमा ४ र मोरङमा १ शव भेटिएको थियो । ती शवको डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

चुच्चेपाटीस्थित भाटभटेनीमा फेला परेका कंकाल त्रिवि शिक्षण अस्पतालमा ७ वटा प्लास्टिकका पोकामा राखिएको छ । उनीहरूको अस्थिपञ्जर मात्र फेला परेको र मृत्युको कारणसमेत खुल्न नसकेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईको भनाइ छ । ‘यी शव पूर्णतः जलेका अवस्थामा छन् । परिवार, आफन्त कोही दाबी गर्न पनि आएका छैनन्,’ उनले भने, ‘डीएनए परीक्षण गर्न सकिन्छ कि भनेर प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएका छौं, कुनै रिपोर्ट आएको छैन ।’ लगभग पूर्ण रुपमा शवहरु जलेकाले स–साना प्लास्टिकका पोका बनाएर छुट्टाछुट्टै शिक्षण अस्पताल फरेन्सिक विभागले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले धरानमा फेला परेका ४ वटा शवको पनि पहिचान हुन नसकेको बताए । ‘लगभग खरानी भइसकेको अवस्थाका शव भेटिएका थिए । अहिलेसम्म आफन्त परेको भनेर एक जनाका परिवार मात्र आउनुभएको छ, अरू कसैको दाबी परेको छैन,’ उनले भने, ‘डीएनए परीक्षण गर्न काठमाडौंको प्रहरी ल्याबमा पठाएका छौं, रिपोर्ट आएको छैन । एउटा शवको दाबी गर्न आए पनि रिपोर्ट नआउँदा पुष्टि हुन सकेको छैन ।’

व्यक्तिगत घर र निजी भवनमा जलेर देशभर २० जनाभन्दा बढीको मृत्यु भए पनि अन्यको पहिचान खुलेपछि पोस्टमार्टम गरी परिवारले शव बुझिसकेका छन् । कोटेश्वर भाटभटेनी, ललितपुरस्थित एक निजी घर, काठमाडौं थानकोटस्थित एक निजी व्यापारिक भवन, कास्की र चितवनमा व्यक्तिका घर र भवनमा जलेर प्रर्दशनकारीको मृत्यु भएको प्रहरीको तथ्यांक छ । व्यक्तिका घर र भवन जलाउने क्रममा ती घटना भएका प्रहरीले जनाएको छ । 

* यसअघि गलत ठाउँ उल्लेख भएकाले सच्याइएको छ ।

सम्बन्धित समाचार 

गोलीले ३९ जना मारिएकामा सबैजसोलाई कम्मरमाथि प्रहार भएको पोस्टमार्टमबाट पुष्टि

राष्ट्र रोएको छ, किनकि राष्ट्र जागेको छ

प्रहरी रिपोर्ट : १२७६ थान राइफल र पिस्तोल लुटिए, ९८ हजार ४९१ थान गोली अभिलेखबाट हराए 

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully