नेपाल रेडक्रस सोसाइटी लामो समयदेखि नेतृत्व विवाद, आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय निकायको निगरानीमा छ ।
What you should know
काठमाडौँ — नेपाल रेडक्रस सोसाइटी भित्र जारी आन्तरिक विवादका कारण संस्थामा समस्या थप गहिरिँदै गएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी) ले गम्भीर चासो व्यक्त गरेको छ।
अन्तर्राष्ट्रिय महासंघको अनुपालन तथा मध्यस्थता समिति (सीएमसी) ले नेपाल रेडक्रस सोसाइटीको सञ्चालक समितिलाई पठाएको चेतावनी पत्रमा विवाद समाधानमा सकारात्मक प्रगति नदेखिए अन्तर्राष्ट्रिय प्रतिबन्धको सिफारिस गर्नुपर्ने अवस्था आउने उल्लेख गरिएको छ ।
गत अक्टोबर ८–९ मा बसेको महासंघको ५३औं बैठकमा सोसाइटीमा चलिरहेको विवाद र त्यसलाई लम्ब्याइरहेका केही व्यक्तिहरूको व्यवहारमाथि गम्भीर ध्यानाकर्षण गरिएको सीएमसीको प्रतिवेदनमा उल्लेख छ । समितिले उक्त व्यवहारले संस्थाको विश्वसनीयता कमजोर पारिरहेको बताएको छ ।
सोसाइटीको पूर्वतदर्थ समितिका अध्यक्ष सुदर्शनप्रसाद नेपाल र महासचिव भूपतिलाल श्रेष्ठलाई राष्ट्रिय सोसाइटीको नेतृत्वका रूपमा मान्यता नपाएको स्पष्ट गर्दै, नेपाल रेडक्रस सोसाइटीको संवेदनशील अवस्थालाई अझ जटिल बनाउने कार्यबाट पछि हट्न आग्रह गरेको छ ।
समितिले आगामी केही हप्ताभित्र विवाद समाधानमा कुनै ठोस प्रगति नदेखिएमा कारबाहीका लागि प्रतिबन्ध सिफारिस गर्न बाध्य हुने चेतावनी दिएको छ । उक्त चेतावनीले सोसाइटीको अन्तर्राष्ट्रिय मान्यता र सहयोगमा गम्भीर असर पर्न सक्ने संकेत गरेको छ । समितिले सबै सदस्य, स्वयंसेवक र कर्मचारीलाई सञ्चालक समितिको वैधानिक निर्णयलाई समर्थन गर्न र संस्थाको एकता पुनर्स्थापनामा सहयोग पुर्याउन आग्रह गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी लामो समयदेखि नेतृत्व विवाद, आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय निकायको निगरानीमा छ । विवाद समाधानमा ढिलाइ हुँदा मानवीय सेवाको क्षेत्रमा संस्थाको कार्यक्षमता कमजोर बन्दै गएको छ । यसले देशको अन्तर्राष्ट्रिय छविमासमेत नकारात्मक प्रभाव पारेको छ ।
सोसाइटीकी प्रतिवेदक क्रिस्टिना कुम्पुलाद्वारा हस्ताक्षरित पत्र कान्तिपुरले पनि प्राप्त गरेको छ । उक्त पत्रले नेपाल रेडक्रसको आन्तरिक अस्थिरता अब अन्तर्राष्ट्रियस्तरमै चासोको विषय बनेको पुष्टि गरेको छ ।
२०८० माघमा पनि अन्तर्राष्ट्रिय रेडक्रस महासंघ र रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीभित्रको बढदो कलहका कारण थप सहकार्य नगर्ने जनाएको थियो । नेपाल रेडक्रसमा कार्यसमितिको आधिकारिताको विषयमा भाँडभैलो बढ्दै गएको पृष्ठभूमीमा त्यतिबेला आईएफआरसीले इमेल पठाएर आफ्नो धारणा राखेको हो ।
२०७५ चैतदेखि रेडक्रसमा आन्तरिक विवाद र कलह सुरुवात भएको थियो । सञ्जीव थापा नेतृत्वको तत्कालीन कार्यसमितिको पदावधि विधानतः समाप्त भएपछि केन्द्रीय कार्यसमितिको निर्वाचन गराउने म्यान्डेटसहित दुई पटक गरेर १५ महिना अवधि थप भएको थियो । त्यसपछि सुरु भएको आन्तरिक कलह र चरम राजनीतिकरणले गर्दा रेडक्रसको विवाद अहिलेसम्म समाधान हुन सकेको छैन ।
