एकअर्काविरुद्ध वक्तव्यबाजी गर्दै गालीगलौजमै उत्रिए तिम्सिना र नेपाल
काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीका दुवै केन्द्रीय कार्यसमिति एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिएका छन् । २०८० असार २५ मा केन्द्रीय अधिवेशन गरेर डा. नेत्रप्रसाद तिम्सिना नेतृत्व र ०८० साउन १ र २ गते अधिवेशन गरेर प्राध्यापक सुदर्शनप्रसाद नेपाल नेतृत्वको रेडक्रस केन्द्रीय कार्यसमिति गठन भएका हुन् ।
प्राध्यापक नेपाल नेतृत्वको कार्यसमितिले काठमाडौं केन्द्रीय कार्यालयबाट गतिविधि सञ्चालन गर्दै आएको छ भने तदर्थ समिति हुादैदेखि तिम्सिना नेतृत्वले केन्द्रीय कार्यालयमा प्रवेश पाएका थिएनन् । अधिवेशनबाट कार्य समिति गठन गरे पनि केन्द्रीय कार्यालयमा प्रवेश नपाएपछि बाहिरैबाट समानान्तर गतिविधि गर्दै आएका छन् ।
प्राध्यापक नेपाल नेतृत्वको कार्यसमितिले राजनीतिक तथा आर्थिक चलखेलबाट भागबण्डा गरेर निर्वाचनको नाटक मञ्चन गरेर रेडक्रसलाई कब्जा गरेको डा. नेत्रप्रसाद तिम्सिना नेतृत्वको आरोप छ । नेपाल नेतृत्वको कार्यसमितिले रेडक्रसको स्रोत दुरुपयोग गरेको, गैरकानुनी आर्थिक कारोबार, बैठकको बहानामा यातायात लगायत भत्ताहरू मनलाग्दी लिने, जिल्ला भ्रमणका नाममा संस्थाको लाखौं रुपैयाँ हिनामिना गर्ने जस्ता कार्य गरिरहेको तिम्सिना पक्षको दाबी छ ।
‘फलतः रेडक्रस सुशासन र पारदर्शितामा चुक्दै गएको र संस्थाको साखसमेत धुमिल भएको अवस्था छ,’ अध्यक्ष तिम्सिनाको अध्यक्षतामा आइतबार बसेको बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, विधिको शासन, प्रचलित कानुनको मूल्य–मान्यता स्थापित गर्नका लागि सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश तथा फैसलाको कार्यान्वयन गर्न गराउनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’ १० वर्षयता रेडक्रसको केन्द्रीय गोदाम घर, केन्द्रीय रक्तसञ्चार भवन र खानेपानी परियोजनाहरू निर्माण गर्दा भएका भ्रष्टाचारका उजुरीलाई तत्काल सम्बोधन गर्न सरकारसित जोडदार माग गरेको छ ।
आफूसहितका अघिल्ला दुई तदर्थ समितिले रेडक्रसभित्रका अनियमितता, भ्रष्टाचारविरुद्ध सुधारको प्रयास गरे पनि स्वार्थ समूहले परिवर्तन गर्न नदिएको र २०७९ पछि अदालतले रेडक्रस सुधारका लागि दिएका आदेशहरूको समेत अवहेलना गरेको तिम्सिना पक्षको दाबी छ । कार्यसमिति गठन अधिवेशनकै बेला पारित गरेको विधानको सांगठनिक संरचना अनुसार सबै पालिकाहरूमा पालिका स्तरीय कार्यसमिति विस्तार सुरु भइसकेको र गठन प्रक्रिया आगामी २०८१ असोज मसान्तसम्ममा ७ सय ५३ वटै पालिकामा सम्पन्न हुने बताएको छ ।
यता मंगलबार सम्पन्न प्राध्यापक नेपाल नेतृत्वको बैठकले तिम्सिना पक्षका आरोप र दाबीहरूको खण्डन गरेको छ । फागुन २७ देखि २९ गतेसम्म रेडक्रसको राष्ट्रिय तालिम केन्द्र बनेपामा सञ्चालन भएको बैठकले आफूहरू स्पष्ट लक्ष्यसहित अघि बढिरहेको अवस्थामा समग्र रेडक्रस अभियानलाई नै बदनाम गराउने गतिविधि भइरहेको भन्दै भर्त्सना गरेको छ ।
‘नेपाल रेडक्रस सोसाइटीको वैधानिक प्रक्रियाबाट निर्वाचित समितिले आफ्ना जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा कुत्सित मनसाय राखी केन्द्रीय कार्यसमिति र संस्थाप्रति भ्रम फैलाउने कथित पदाधिकारी, समितिको नामबाट भैरहेको नौटंकी बैठकको घोर भर्त्सना गर्दै सम्बद्ध सबैमा सचेत रहन पनि अनुरोध गर्दछौं,’ अध्यक्ष नेपाल लगायत पदाधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पारदर्शिता, सेवा प्रवाहमा द्रुतता र सुशासनको व्यवस्थामा प्रतिबद्धता जनाउँदै संस्थाको नियमानुसार गरिने गतिविधिमा हालको केन्द्रीय कार्य समिति सचेत छ ।’
बैठकले विधान संशोधनका लागि आगामी २०८१ वैशाखमा महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ । डोटी र कर्णालीको भूकम्प प्रतिकार्यमा रेडक्रसले सहकार्य गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
