जेन–जी आन्दोलनका सहिद र घाइतेको बलिदान खेर जान दिनु हुँदैन : स्वास्थ्यमन्त्री गौतम

मन्त्री गौतमका अनुसार आन्दोलनमा घाइते भएका ८३ जनाको केएमसी अस्पतालमा उपचार भएको र दुई जना अझै अस्पतालमा उपचाररत छन् भने दुबैको अवस्था सुधारोन्मुख छ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

The sacrifices of the martyrs and injured of the Gen-G movement should not be allowed to go in vain: Health Minister Gautam

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेन–जी आन्दोलनका सहिद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताएकी छन् ।

सोमबार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री गौतमका अनुसार केएमसी अस्पतालले आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र तीमध्ये २ जना अहिले पनि उपचाररत रहेका छन् । उपचाररत घाइतेमध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको बताइन् । अर्को एक घाइते गोली लागेर उपचाररत रहेको र दुवैको अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘केएमसीले ८३ जना जेन–जी घाइतेहरूको उपचार गरिसकेको रहेछ । अहिले मैले दुई जना बिरामी हेरेँ, अरू सबै निको भएर फर्किएका रहेछन् । एक महिलामाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको रहेछ, त्यो देख्दा साह्रै दुःख लाग्यो । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ, उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले निकै राम्रो काम गरेको रहेछ । यत्रो शहीद र घाइतेहरूको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । सुशासनको मुद्दा हामीले बिर्सनु हुँदैन ।’

कान्तिपुर संवाददाता

Link copied successfully