भदौ २४ को प्रदर्शनमा क्षति पुगेका सर्वोच्च र अन्य अदालतले प्रहरीमा जाहेरी दिने

प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा क्षति भएको छ ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Supreme Court and other courts damaged in Bhadra 24 protests to file police complaint

What you should know

काठमाडौँ — देशभरका अदालतमा २४ भदौमा भएको तोडफोडको घटनामा जाहेरी दिइने भएको छ । आइतबार* बसेको फूलकोर्टको बैठकले क्षति भएका सबै अदालतको जाहेरी प्रहरी कार्यालयमा अनुसन्धानका लागि जाहेरी दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले क्षति पुगेका सबै अदालतले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने र आफूसँग भएको प्रमाण उपलब्ध गराउने जानकारी दिए । अदालतले कसैको नाम नतोकी अनुसन्धानका लागि जाहेरी दिने उनले बताए । आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा क्षति भएको छ । यो क्षतिको तीन वर्गमा छुट्याइएको छ । पूर्ण क्षति, सामान्य र आंशिक क्षति गरेर अदाललते विभाजन गरेको छ ।  

सर्वोच्च अदालतको भौतिक संरचनातर्फ अदालतको मूल भवन १, पाले घर १, सुरक्षाकर्मी भवन १, सूचना कक्ष १, छापाखाना भवन १ र प्रतिक्षालय १ जलेर पूर्णरुपमा क्षति भएको छ ।

यसका साथै मूल भवनमा रहेका सम्पूर्ण इजलास तथा च्याम्बरसमेत प्रयोग गर्न नसकिने गरी क्षति भएको छ । चार पांग्रे सवारीसाधनतर्फ न्यायाधीशको १३ वटा, अदालत प्रयोगजनको ३० वटा, दुई पांग्रे सवारीसाधनतर्फ अदालतको ६६ वटा मोटरसाइकल र ३६ वटा स्कुटर तथा ४ थान निजी मोटरसाइकलसमेत पूर्णरुपमा क्षति भएको छ ।

आगजनी तथा लुटपाटका कारण ९४ मिसिल र्‍याक, २७९ टेबल, १०१ टी टेबल, ६८२ काठ–स्टिलको कुर्सी, १०० बेन्च, ३९२ स्टिलको दराज, २७९ र्‍याक, २६ स्टुल, ३०९ बुक केस, ७४ किचन र्‍याक,  ६९ सोफा सेट, क्याबिनेट काउन्टर ९४, २३ एजुकेटिभ टेबल र कम्प्युटर टेबल ४७ पूर्ण रुपमा क्षति हुनुका साथै चालु मिसिल करिब २०,००३४ र अभिलेख मिसिल करिब १ लाख ९७ हजार समेत जलेर पूर्णरुपमा नष्ट भएको छ ।

*बार सच्याइएको छ । –सम्पादक

कान्तिपुर

Link copied successfully