गृहमन्त्री अर्याल भन्छन् : मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको निसानामा छु  

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनलाई काउन्टर गर्ने हामीसँग संयन्त्र छैन । सुरुमा त्यसलाई हामीले प्राथमिकता दिएनौँ । तर सरकार र ममाथि प्रहार त्यहाँबाट भइरहेको छ ।-गृहमन्त्री अर्याल

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal says: I am a target of misinformation and disinformation

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालबाट फैलाइएको मिसइन्फर्मेसन र डिसइन्फर्मेसनमा आफू पहिलो निसानामा परेको टिप्पणी गरेका छन् । कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रमसँगको कुराकानीमा गृहमन्त्री अर्यालले आफूबारे भ्रामक सूचना फैलाइएको बताएका हुन् । 

‘मिसइन्फर्मेसन र डिसइन्फर्मेसनलाई काउन्टर गर्ने हामीसँग संयन्त्र छैन । सुरुमा त्यसलाई हामीले प्राथमिकता दिएनौँ । तर सरकार र ममाथि प्रहार त्यहाँबाट भइरहेको छ,’ अर्यालले भने ‘सामाजिक सञ्जालमा अनेक सूचना जुन भ्रामक र वास्तविकता छैन सेयर गर्दै आलोचना गरिन्छ ।’

गृहमन्त्रीलाई नै यसरी निसानामा राख्दा प्रहरी प्रशासनको मनोबल कसरी बढाउने भन्ने चिन्ता लागेको उनले बताए । आफूले गृहमन्त्रीको जिम्मेवारी लिएपछि प्रहरी प्रशासनलाई एउटा पद्धतिमा लैजाने अनि आफैं काम होस् भन्ने शैलीमा काम गरिरहेको तर पनि भ्रामक सूचनामार्फत आलोचना हुँदा चित्त दुख्ने उनले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री छाने पनि सामाजिक सञ्जालमा अर्कै भाष्य स्थापित गर्ने दुष्प्रयास भइरहेको उनले बताए । 

‘केही सार्वजनिक सञ्चार माध्यममा नै अतिरञ्जना गर्ने काम गरे कि ! मेनस्ट्रिम मिडियाले पनि त्यो गर्दा खेरि अब पत्रकारिता पनि फेरि  जगेर्ना गर्नुपर्ने अवस्थामा पुगेको हो कि,’ उनले  भने, ‘यो पेशामा पनि जेनजी विद्रोहपछि  सुधार गर्नुपर्ने अवस्था भएको हो कि ? ’

सार्वजनिक सञ्चार माध्यमले आलोचनात्मक हिसाबले हेर्नुपर्ने तर कसैलाई लक्षित गर्दै भ्रामक सूचना फैलाउन नहुने उनको भनाइ छ । 

‘सम्पादकको पद भन्या सानो पद हैन नि यत्रो समाजलाई सूचना दिने भाष्य निर्माण गर्ने ती सम्पादकमाथि पनि समाचार बन्नुपर्ने हो र ?,’ उनले भने ‘ सञ्चार माध्यममाथि पनि कुनै समाचार बन्नुपर्ने स्थिति आउनु राम्रो हैन । किनभने जब एउटा कुनै सञ्चार माध्यमले कसैको चरित्र हत्या गर्छ त्यसको विश्वसनीयता रहँदैन ।’

कान्तिपुर संवाददाता

Link copied successfully