केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनकै विषयमा निर्णय लिनेछ : खड्का 

फागुन २१ गतेको निर्वाचन घोषणा, पार्टीको आन्तरिक महाधिवेशन र भदौ २३–२४ पछिको नयाँ राजनीतिक परिस्थितिमा पार्टीले प्रस्ट मार्गचित्र तयार पार्ने खड्काले बताए ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Central Committee meeting will take decision on regular general convention: Khadka

What you should know

काठमाडौँ — कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चालु केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनको प्रस्तावको समयसीमाभित्रै नियमित महाधिवेशनलाई अघि बढाउनेगरी चालु केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिने बताएका छन् ।

फागुन २१ गतेको निर्वाचन घोषणा, पार्टीको आन्तरिक महाधिवेशन र भदौ २३–२४ पछिको नयाँ राजनीतिक परिस्थितिमा पार्टीले प्रस्ट मार्गचित्र तयार पार्ने खड्काले बताए ।

कांग्रेसको भ्रातृसंस्था तरुण दलको ७६ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजना गरिएको चियापानमा बोल्दै खडकाले पार्टीका सबै निर्णय सर्वसम्मतिले पारित हुने विश्वास समेत व्यक्त गरे ।

कात्तिक १ गते स्थगित भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १३ गतेदेखि पुनः सुरु हुँदैछ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्रै नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशनको निर्णय लिनका लागि दबाब दिइरहेका बेला खड्काले नियमित महाधिवेशनकै लागि बैठकले निर्णय लिने बताएका हुन् । 

नियमित महाधिवेशन भनेपनि संस्थापन पक्षले आगामी मंसिरमा नभई फागुन २१ को निर्वाचन पछाडि मात्रै हुनुपर्ने बताइरहेको छ र तर इतरपक्षका नेता शेखर कोइराला, महामन्त्रीद्वय शर्मा र थापाले भने आगामी मंसिरभित्रै कार्यतालिका आउनुपर्नेमा जोड दिँदै आएका छन् । थापा र शर्माले मंसिरभित्र नियमित नभए विशेष महाधिवेशनको वकालत गर्दै आइरहेका छन भने नेता कोइराला विशेष महाधिवेशनको पक्षमा भने देखिएका छैनन् ।

‘नयाँ राजनीतिक परिस्थितिबीच चालु केन्द्रीय कार्यसमितिको बैठकले एकता र समिक्षाको भावबाट निकालिएको निष्कर्षका आधारमा निर्णय सर्वसम्मतिबाट निर्णय गर्नेछ,’ खडकाले भने,‘हामीले जति पनि विषय अघि सारेका छौँ, तीनमा व्यापक छलफल  र विमर्श भइरहेको छ । फरक–फरक कोण र जोडलाई एकठाउँमा जोडेर फागुन २१ मा घोषणा भएको निर्वाचन, नियमित महाधिवेशन, भ्रातृसंस्थाका अधिवेशनलगायत सबै विषयहरूलाई अगाडि राखेर पार्टीका विशेष महाधिवेशनको प्रस्तावलाई पनि समाधान हुनेगरी नियमित महाधिवेशनको सीमाभित्र जोडेर निर्णय लिनेछौँ ।’ उनले खरानीको जगबाट उठेर कांग्रेसलाई एक पटक फेरि राष्ट्रको मियो बनाउने दाबी गरे । 

कान्तिपुर

Link copied successfully