अपशब्द बोलेको भिडियो विवादित बनेपछि अमनप्रतापले मागे माफी

उनले भनेका छन्- ‘अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो ।'

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

Aman Pratap apologizes after video of him using profanity sparks controversy

What you should know

काठमाडौँ — भदौ २४ गते प्रदर्शनका क्रममा अपशब्द बोलेपछि आलोचित बनिरहेका निर्देशक अमन प्रताप अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका छन् ।

एक भिडियो पोस्टमार्फत उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध त्यस्तो शब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफी मागेका हुन् । चर्चित फुटबल कमेन्टेटरसमेत रहेका अधिकारी ‘पोइट आइडल’ नामक रियालिटी शोका निर्देशकसमेत हुन् ।

अधिकारीले फेसबुकमा २४ भदौ अपराह्न ५ः५२ बजे उक्त विवादित भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए । ‘ल हेर अब... (अपशब्द) संसद् भवनभित्र पूरै... सकियो... चोर...(अपशब्द) भुसियाहरू... छोराहरू... नेताको नाममा...(अपशब्द) लुटपाट... सकियो हेर त्यहाँ, तेरो देश सकियो, तेरो राज्य ...(अपशब्द) को छोराहरू... अब... सकियो... सबको पालो आउँछ...चोरी घुसखोरी... सब डढा अब...(अपशब्द) सबको ज्यान जान्छ... सक्यो... सक्यो... सक्यो...’ जस्ता अपाच्य शब्दहरू बोलेका थिए ।

अमननप्रतापले सोमबार बिहान जारी गरेको भिडियोमा भनेका छन्, ‘भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए । २४गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । ...गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ  ।’ त्यो आक्रोशमा अपशब्द बोलेकोमा उनले माफी मागेका छन् ।

‘अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ,’ उनले भने । अधिकारीले आफूले संसद् भवन वा कुनै पनि भवन जलाएको वा हातपात गरेको प्रमाण भेटेमा जेल जान तयार रहेको पनि बताएका छन् ।

कान्तिपुर

Link copied successfully