सडकमा कलाकारका शब्द : उत्साह कि उक्साहट ?

२३ भदौको जेन–जी आन्दोलन र भोलिपल्टको प्रदर्शनमा कैयन् कलाकारको उपस्थिति थियो तर केही ‘सेलेब्रिटी’ त्यति बेलाको अश्लील र उत्तेजक अभिव्यक्तिका कारण विवादित बनिरहेका छन्, कसैलाई आगजनी र तोडफोड चल्दा ‘खुसियाली’ मनाएको आरोप लागिरहेको छ

कार्तिक ९, २०८२

दया दुदराज

Words from artists on the street: Enthusiasm or provocation?

What you should know

काठमाडौँ — भदौको प्रदर्शनमा भएको संलग्नतालाई लिएर केही ‘सेलेब्रिटी’ माथि प्रश्न उठिरहेको छ । तोडफोड र आगजनीमा उत्रिएका प्रदर्शनकारीलाई उक्साएको आरोपसमेत कतिपय ‘सेलेब्रिटी’ माथि लागिरहेको छ । यही सेरोफेरोमा कलाकारहरू दीपकराज गिरी, निश्चल बस्नेत, विजय लामा तथा कमेन्टेटर अमनप्रताप अधिकारीमाथि केही दिनयता आलोचना भइरहेको छ ।

उनीहरू आफैं तोडफोड र आगजनीमा संलग्न नभएको, अभिव्यक्ति भने त्यति बेलाको परिस्थितिमा ‘स्वाभाविक’ रहेको भनेर केहीले उनीहरूको पक्ष पनि लिएको देखिन्छ । 

आरोप लगाइएका कलाकारहरू २४ भदौको तोडफोड र आगजनीमा सहभागी थिए कि थिएनन्, पछि खुल्दै जाला वा कुनै अनुसन्धानले निष्कर्ष देला । उनीहरूले सामाजिक सञ्जालमा कस्ता–कस्ता ‘स्टाटस’ लेखे, कसरी प्रदर्शनमा होमिए भनेर ‘ओपन सोर्स इन्टलिजेन्स’ विधिबाट कान्तिपुरले विश्लेषण गरेको छ । 

***

नेपाली कलाकारिता क्षेत्रको चर्चित नाम हो– निश्चल बस्नेत । ‘लुट’ जस्तो ‘ट्रेन्ड सेटर’ फिल्मका निर्देशक बस्नेतले थुप्रै नेपाली फिल्ममा विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गरेका छन् । पछिल्लो समय भने उनी एउटा भिडियोका कारण चर्चामा छन्, जुनसँग फिल्मको कुनै साइनो छैन । 

२४ भदौको प्रदर्शनमा देखिएका उनले भिडियोमा ‘नयाँ युगको सुरुवात हो यो जेन–जी पुस्ताले गरेर देखाएको छ, अरू पुस्ताले गर्न नसकेको अब तपाईंहरूले जस्ले देश बना भनेर रोज्ने हो नि, त्यही हुन्छ’ भनेका छन् । उनी बोल्दै गर्दा पृष्ठभूमिमा धूवाँ उडिरहेको देखिन्छ । यही भिडियोका कारण बस्नेतमाथि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । उनी आफैं तोडफोड र आगजनीमा सामेल भएको भिडियो भने देखिएको छैन । 

जेन–जी आन्दोलनका सन्दर्भमा बस्नेत २१ भदौदेखि नै सामाजिक सञ्जालमा सक्रिय थिए । २१ भदौको ९ः४९ बजे उनले आन्दोलनबारे टिकटकमा पोस्ट गरेका छन् । त्यसमा उनले लेखेका छन्, ‘भ्रष्टविरुद्ध जाग्दै छ नेपाल । नयाँ पुस्ताको आवेग थाम्न गाह्रै पर्ला सरकारलाई । जेन–जी रिभोलुसन एगेन्स्ट कोरप्सन ! रेस्पेक्ट ८ सेप्टेम्बर अ डेट टु रिमेम्बर एन्ड रिभोल्ट !’ 

बस्नेतले २२ भदौको राति १०ः४० बजे ‘फाइनल्ली इट्स ह्यापेनिङ’ भन्दै ३ मिनेट ३१ सेकेन्डको भिडियो पोस्ट गरेका छन् । ‘अब जेन–जी पुस्ता निकै फ्रस्ट्रेटेड भइसकेका छन् । भ्रष्टाचार, अन्याय र सत्ता–शक्ति दुरुपयोगको विरुद्धमा उनीहरू उठ्ने तयारीमा छन् । यो आन्दोलन कसैको व्यक्तिविरुद्ध होइन, हाम्रो भविष्यका लागि हो,’ बस्नेतले भिडियोमा भनेका छन् । 

भिडियोमा उनले ‘देशमा ल एन्ड अर्डर भन्ने कुरा अहिले शक्तिहीनका लागि मात्र लागू भइरहेको’ बताएका छन् । उनले भनेका छन्, ‘सत्तामा पुगेका मानिसहरू चाहिँ नियमभन्दा माथि पुगेका छन् । प्रधानमन्त्रीकै गाडीले मान्छे हिर्काएर भाग्छ, अनि त्यसको जिम्मेवारी लिने कोही हुँदैन । अनि यस्तो बोल्ने प्रधानमन्त्री, यस्तो सुन्ने जनता ।’

उनी थप्छन्, ‘हामीले सोसल मिडियामा अभिव्यक्ति राख्ने ठाउँ पनि खोसिएको छ । जनताका आवाजहरू थुन्न खोजिँदै छ । यही दबाब र अन्यायले गर्दा जेन–जी पुस्ता अब ‘फेड अप’ भएका छन् । हामी शान्तिपूर्ण रूपमा आफ्नो अधिकार माग्न र भ्रष्ट मान्छेहरूलाई देखाउन सडकमा निस्कन लागिरहेका छौं ।’ उनले सुरक्षाकर्मीलाई पनि अपिल गर्दै भनेका छन्, ‘यो आन्दोलन तपार्इंहरूको विरुद्ध होइन । यो तपाईंहरूकै छोराछोरीको भविष्यका लागि हो । त्यसैले भीडमा घुसपैठ र हिंसा हुन नदिन सहयोग गर्नुहोस् । सबैले मिलेर यो आन्दोलनलाई शान्तिपूर्ण र अर्थपूर्ण बनाऔं ।’

जेन–जी आन्दोलनको दिन अर्थात् २३ भदौको राति ७ः३९ मा बस्नेतले ५ मिनेट ५७ मिनेटको भिडियो पोस्ट गरेका छन् । ‘यो कस्तो नेतृत्व हो– अन्डरएज बच्चा पनि त्यहाँ आउँछन् भनेर थाहा हुँदाहुँदै पनि गोली हान्न अर्डर दिने ? सार्वजनिक सम्पत्तिमा बन्दुक चलाउनुहुन्छ भनौं, त्यो कसरी स्वीकार्य छ ?’ भिडियोमा उनले भनेका छन्, ‘मैले आफ्नै आँखाले हेरें– हस्पिटलहरू खचाखच थिए, तर जब आन्दोलनमा युवाहरू आए, सरकारले सहमति जनाएर होइन, गोली चलाएर प्रतिक्रिया दियो । यसले हाम्रो भविष्यलाई नै निसाना बनाएको छ ।’ 

बस्नेतले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमाथि पनि प्रश्न गरेका छन्, ‘त्यो आदेश कसले दियो ?’ उनले ‘यो आन्दोलन कुनै सञ्चार माध्यम वा पार्टीको झन्डा मात्र लिएर आएको समूहको होइन’ भनेका छन् । उनले थपेका छन्, ‘यो उदाउँदै गरेको पुस्ताको आवाज हो, जसले आफ्नै भोलिका बारेमा चिन्ता गर्छ । तिनीहरूलाई मैदानमा तानेर भविष्य नै खेर जान दिने अधिकार कसैलाई छैन ।’ 

बस्नेतले १०:५२ मा फेसबुकमा पनि लेखेका छन्, ‘भविष्य खोज्दै, भ्रष्टाचारविरुद्ध बोल्ने नयाँ पुस्ताको रगत बगाउने कायर सरकार ! थुक्क ! प्रिय बालेन शाह, इट्स टाइम, नाउ इज त टाइम । द पिपल निड यु । हाम्रो समय केही होला भनेर कुर्दा कुर्दै गयो । युवा पुस्ताको भविष्यका लागि लिड अस अल ! प्लिज ।’ 

२४ भदौमा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी व्यापक भएपछि त्यसलाई कम गर्न भन्दै बस्नेतले दुई भिडियो सन्देश पोस्ट गरेका छन् । दिउँसो ३:१६ मिनेटमा पोस्ट गरिएको २ मिनेट १ सेकेन्डको पहिलो भिडियोमा बस्नेतसहित पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, रास्वपा नेता गणेश कार्की, विवेकशील साझाका नेता मिलन पाण्डे, कलाकार दीपकराज गिरी, म्याक्स क्षेत्रसहित १२ जना देखिन्छन् । 

‘जेन–जी पुस्ताले सुरु गरेको यो आन्दोलन अब देशभर सार्थक बन्न थालेको छ,’ भिडियोमा बस्नेतले भनेका छन्, ‘आज हामीले पछाडि देखिरहेका धूवाँको अर्थ के हो भने– यो त्यो धूवाँ हो, जसले दशकौंदेखि हामीलाई धोका दिने, खेलाउने, आशा देखाएर निराश बनाउने सबैलाई अन्त्यतिर पुर्‍याउँदै छ । अब यो एउटा नयाँ सुरुवातको संकेत हो ।’

बस्नेतले थप भनेका छन्, ‘जेनेरेसन–जीले जे इनिसिएट गरेको थियो, त्यसले अब पहिलो कदममा सफलता पाइसकेको छ । तर अब संयम चाहिन्छ । धेरै तोडफोड गर्नु भनेको हाम्रै सम्पत्तिमा चोट पुर्‍याउनु हो । अब हामीले अर्गनाइज्ड भएर, देशको हितमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन देशका लागि हो, व्यक्तिगत घृणाका लागि होइन । हामी सबैको साझा उद्देश्य देश सुधार्नु हो । तपाईंहरूले जुन साहस देखाउनुभयो, त्यो ऐतिहासिक छ । अब पिसका लागि कल गर्नुहोस् । यो देश तपाईंकै हो, यसको जिम्मेवारी पनि तपार्इंकै हो । भौतिक संरचना जोगाउनुहोस् । संसद्, भवन, सडक, सम्पत्ति यी सबै तपाईंहरूकै हुन् । भोलि यही ठाउँमा बसेर तपाईंहरूले नीति बनाउनुपर्छ ।’

बस्नेतले ५:२९ बजे अर्को भिडियो सन्देश पोस्ट गरेका छन् । २ मिनेट १ सेकेन्डको भिडियोमा उनले भनेका छन्, ‘हेलो, सबैलाई नमस्कार, जेन–जीले यहाँसम्म ल्याइपुर्‍याउनुभयो, यो तपाईंहरूको जित हो । तपाईंहरू देशलाई नयाँ बाटोमा लग्न सफल हुनुभयो । तर अबको समयमा अलिकति सतर्क हुन जरुरी छ । आवेग र आक्रोशमा लुटपाट र तोडफोड हुन सक्छ– यस्ता कुरालाई प्रोत्साहन नगर्नु हो । कोही गरिरहेछ भने गएर रोकिदिनुहोस् ।’

यो परिवर्तन सधैं नआउने उल्लेख गर्दै उनले थपेका छन्, ‘हाम्रो पुस्ताले सकेन, बुबा–हजुरबुबाको पुस्ताले सकेन, तर तपाईंहरूले गरेर देखाउनुभयो । अब यो जितलाई स्थायी बनाउन संयम र आयोजना आवश्यक छ । भौतिक संरचना जोगाउनुपर्छ– संसद्, सडक, सम्पत्ति यी सबै तपाईंहरूकै हुन् । अरूको परिवार र भविष्यप्रति पनि संवेदनशील बनौं ।’ उनले युवाप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्, धन्यवाद जेन–जी, यस्तो इनिसिएसन लिएकोमा र यो परिवर्तनको बाटो देखाइदिएकोमा । हामी सक्दो सहयोग गर्छौं । तर लुटपाट र तोडफोड घटाउँदै जानुहोस् र शान्तिका लागि आह्वान फैलाउनुहोस् । कृपया, यही बाटोमा अगाडि बढौं ।’

२४ भदौको राति ७:३६ बजे बस्नेतले फेसबुकमा स्टाटस पनि पोस्ट गरेका छन् । ‘अबको नेपाल कस्तो हुन्छ ? जेन–जीले चाहेको जस्तो ! बाँकी कसैले हात सेकाउन अघि नसरे हुन्छ,’ उनले लेखेका छन्, ‘यो पुस्ता सिक्दै गल्ती गर्दै फेरि सिक्दै परिपक्व हुन्छ । तर देश हाँक्ने पुस्ता यही हो । अब साँचै नै युवाले देश चलाएको हेर्न चाहन्छु ।’

२५ भदौका राति १०:२१ बजे बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको स्टाटस सेयर गरेका छन् । २६ भदौको दिउँसो १:१७ बजे ‘जेन–जी भाइबहिनीहरू, हरेक निर्णय लिँदा त्यो कलिलो साथीको बगेको रगत सम्झिनुहोला । देश सम्झिनुहोला र भविष्य । वी ट्रस्ट यु’ लेखेका छन् ।

निर्देशक निश्चलले आफूमाथि छानबिन गर्न आग्रह गर्दै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । ‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु,’ गत बुधबार साँझ ६:०८ बजे बस्नेतले फेसबुकमा लेखेका छन्, ‘प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्छु ।’ उनले लेखेका छन्, ‘म आन्दोलनमा गएको हो ? हो, भ्रष्टाचारको विरोध गरेको हो ? हो, मसँग फोटो, भिडियो खिच्न दाजुभाइ, दिदीबहिनी आएका हुन् ? हो, भिडियोको माथि आफू अनुकूल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।’

***

कलाकार दीपकराज गिरी २४ भदौको प्रदर्शनमा देखिएका कारण विवादित छन् । आगजनी र तोडफोड भएको कांग्रेस नेता विमलेन्द्र निधिको घरमा उनी देखिएको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

गिरीले जेन–जी आन्दोलनका विषयमा २३ भदौको प्रहरी दमनपछि मात्र फेसबुकमा लेख्न थालेको देखिन्छ । त्यो दिन राति ११ः५३ बजे उनले फेसबुकमा लेखेका थिए– ‘यो कालो दिनको प्रमुख कारण... 

१) जति चुनाव गरे पनि कसैको बहुमत नआउने निर्वाचन प्रणाली । (काले काले मिलेर खाऊँ भाले) 

२) अनेकौं राजनैतिक परिवर्तनका बाबजुद भ्रष्ट ब्युरोक्रेसी जस्ताको त्यस्तै अपरिवर्तित रहनु ।

३) भ्रष्ट तथा अदूरदर्शी नेतृत्व ! एउटै अनुहारले पालैपालो मुलुक हाँक्नु ! 

अतः सरकार तुरुन्त राजीनामा दिएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली अंगीकार गरेर संविधानमा रहेका अव्यावहारिक धाराहरू परिवर्तन गर्दै साँच्चिकै नयाँ नेपाल बनाउने अभियानलाई मार्ग प्रशस्त गरेर मुलुकलाई थप क्षति हुनबाट बचाऔं । जय नेपाल !’

गिरीले २४ भदौको बिहान ११:०५ बजे फेसबुकमा ‘प्रमज्यू ! ६ महिनापछि अर्कोलाई पालो दिनुभन्दा अहिले राजीनामा दिएर जनचाहनालाई पालो दिनु राम्रो !’ लेखेका छन् । त्यही दिन उनले १२:१४ बजे लेखेका छन्, ‘ल अब बानेश्वरमा भेटौं !’ उनले दिउँसो २:३६ बजे फेसबुकमा ‘राजीनामा आएको छ ! जेन–जी तपाईंहरूको हातमा जिम्मेवारी आउँदै छ ! त्यसैले अब संयमित बन्दै जाऔं, भोलि तपाईं हामीलाई चाहिने भौतिक संरचना बचाऔं’ लेखेका छन् । त्यही दिन ३:१२ बजे १ मिनेट ४९ सेकेन्डको भिडियो सन्देश पोस्ट गरेका छन्, जसमा निश्चल बस्नेतसहित १२ जनाको समूह थियो । त्यसपछि उनले साँझ ६:४९ बजे ‘सामान्य नागरिकले एउटा पार्टीको सदस्यता नलिई बाँच्नै नसकिने अवस्थाको अन्त्य नै अबको आवश्यकता..’ भन्ने स्टाटस फेसबुकमा लेखेका छन् । लगत्तै ७:३३ बजे अर्को स्टाटस लेखेका छन्, ‘बैंकहरूमा पनि लुटपाटको कुरा आयो र अझै केही ठाउँमा आक्रमणको कुरा आइरहेको छ ! संयमता अपनाऔं ! प्लिज घर फर्कौं... !’ 

राति ८:३३ बजे गिरीले ‘अहिले केही मानिसहरू बालेन ठिक भन्ने अर्को समूह रवि ठिक भनेर बहस गर्न थालेका छन ! यो दुवै जना मिलेर थप विध्वंस रोक्ने र अघि बढ्ने समय हो’ लेखेका छन् । 

२५ भदौको बिहान ९:३१ बजे लेखेका छन्, ‘अबको बाटो त्यति सहज छैन... ठूलो भौतिक र मानवीय क्षति भएको 

छ ! यहाँबाट बदलाको भावना त्याग्दै देश निर्माणको बाटोमा सबै पक्ष लाग्नुको विकल्प छैन... शुभप्रभात !’ त्यही दिन राति ८:०८ बजे लेखेका छन्, ‘अगाडि चुनौतीको पहाड 

छ ! वर्तमान संविधानलाई कसरी लिने ? कुन बाटो र गन्तव्य अंगीकार गर्ने ? राष्ट्रिय सहमति र एकता कसरी कायम गर्ने ? यस्तो अवस्थामा कानुनी रूपमा अनुभवी व्यक्तिलाई नै अगाडि बढाउनु राम्रो !’

२६ भदौको बिहान ९:११ बजे लेखेका छन्, ‘मेरो व्यक्तिगत विचारमा...जेन–जीको आन्दोलनले सफलता पाए पनि उसको चाहनाविपरीत यति ठूलो भौतिक र मानवीय क्षति हुन पुगेको छ । त्यसको कारण त्यहाँ अनेकौं स्वार्थ समूहको घुसपैठ पनि भएको देखिन्छ ! प्राप्त भिडियोहरूको प्रमाणले पनि त्यस्तै भन्छ ! ठिक त्यसै गरेर अहिले पनि त्यस्तै प्रकारको भिन्नभिन्न समूहहरूबाट मिसलिडिङ हुने खतराबाट बच्नुपर्ने अवस्था छ जेन–जीले ! त्यस्ता समूहले आआफ्ना स्वार्थअनुसार गलत सल्लाह दिएर देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छन् ! त्यसैले भ्रष्टाचार तथा सुशासन लगायतका प्रमुख मागहरू सम्बोधन हुने प्रत्याभूतिसहित भविष्यमा राष्ट्रिय एकता पनि कायम हुने गरेर सबैको विचारको प्रतिनिधित्व हुने गरी अघि बढ्नु नै आजको आवश्यकता हो जस्तो लाग्छ ! यसका लागि नागरिक समाजले पनि अघि बढेर सहयोग गर्नुपर्ने देखिन्छ ।’

त्यही दिन राति १०:३३ बजे उनले लेखेका छन्, ‘यत्रतत्र हल्लैहल्ला, अनुमान ठोकुवा र आफ्नै विश्लेषणहरू ! कतै खरानीका कुरा, कतै लासका ! धेरै बस्यौं त्रासमा हामी ! सपना देखौं केही आशाका... ।’

दीपकराज गिरीले आफूमाथि उठेको प्रश्नबारे जवाफ दिएका छन् । उनले फेसबुकमा शुक्रबार बेलुका ७:०९ बजे लेखेका छन्, ‘मेरो सवालमा चाहिँ, म कुनै समूहमा आबद्ध नभएको कलाकार, देशमा भएको त्यो तोडफोड र आगजनीमा मेरो सहभागिता छैन, यदि प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीका लागि तयार छु ।’

भाइरल भइरहेको फोटो बानेश्वरमा सर्वपक्षीय भेलामा खिचिएको उनले बताएका छन् । उनी लेख्छन्, ‘अहिले त्यो बाटोमा हिँडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन् । सकेसम्म नबोलौं भन्ने नै थियो तर धेरैले यो फोटो पठाएर सोध्नु भो दीपकजी, के यो तपाईं नै हो ? अब जिम्मेवार नागरिकको हिसाबले त बोल्नै पर्‍यो । पहिलो कुरा त के सत्य हो भने नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरेझैं यसलाई पनि समर्थन गरेकै हो । यदि त्यो अपराध हो भने अपराध त भयो नै...।

उनले लेखका छन्, ‘अब मुख्य कुरामा जाऊँ, त्यो दिन गणेश कार्की भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ बानेश्वरमा, कलाकारका रूपमा तपाईंहरू पनि आउनुस् भन्नु भो, त्यसपछि म घरबाट हिँडे । त्यति बेला बाहिर सामान्य तोडफोड सुरु भइसकेको थियो । मेरो घरबाट बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर, कसको घर हो त्यो पनि थाहा थिएन, त्यहाँ केही रमिते केटाहरूले त्यो तोडफोड भइसकेको घर हेरिरहेका थिए । मलाई हात हल्लाए, फोटो पनि खिची नै रहेका थिए, भएको त त्यति नै थियो तर अहिले त्यो बाटोमा हिँडिरहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन्...।’

गिरीले आफ्नो भाइरल भएको दोस्रो फोटोका बारेमा पनि स्पष्टीकरण दिएका छन् । ‘दोस्रो फोटो, त्यसपछि छलफलमा गइयो, व्यापक तोडफोड र आगजनी सुरु भो । त्यसपछि हाम्ले तोडफोड नगरौं भन्ने एउटा भिडियो पनि बनायौं । त्यसपछि घर आएर निरन्तर तोडफोड नगरौं, राष्ट्रको सम्पत्ति जोगाऔं भन्ने स्टाटस हालिरहें, त्यो स्टाटस साक्षीका रूपमा छँदै छन् । वास्तवमा त्यो आन्दोलन एउटा पाटो थियो, आगजनी र विध्वंस अर्को पाटो, त्यो दोस्रो पाटोमा चाहिँ दलहरूकै मान्छेलगायत अनेकौं स्वार्थ समूह छिरेको त प्रमाणित नै भइसक्यो,’ उनले लेखेका छन् ।

***

आलोचित हुने अर्का व्यक्ति हुन्, निर्देशक अमनप्रताप अधिकारी । चर्चित फुटबल कमेन्टेटरसमेत रहेका अधिकारी ‘पोइट आइडल’ नामक रियालिटी शोका निर्देशक हुन् । २४ भदौको प्रदर्शनका क्रममा संसद् भवन जल्दै गर्दा उत्सव मनाएको भिडियोका कारण उनी आलोचित बनेका छन् ।

अधिकारीले फेसबुकमा २४ भदौ अपराह्न ५:५२ बजे उक्त भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका छन् । ‘ल हेर अब... (अपशब्द) संसद् भवनभित्र पूरै... सकियो... चोर...(अपशब्द) भुसियाहरू... छोराहरू... नेताको नाममा...

(अपशब्द) लुटपाट... सकियो हेर त्यहाँ, तेरो देश सकियो, तेरो राज्य ...(अपशब्द) को छोराहरू... अब... सकियो... सबको पालो आउँछ...चोरी घुसखोरी... सब डढा अब...(अपशब्द) सबको ज्यान जान्छ... सक्यो... सक्यो... सक्यो...।’

उनले २४ भदौअघि पनि आन्दोलनबारे स्टाटस र भिडियो पोस्ट गरेका छन् । २३ भदौमा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘सिपाही जसले त्यो गोली हान्यो, जोबाट उसले त्यो अर्डर पायो उसको चिफ, उसको चिफ जसले त्यो आदेश दियो, उसको चिफ जसलाई आदेश आयो गृहमन्त्रीको, गृहमन्त्री जसले यो आदेश दिनका लागि सल्लाह कोसँग गरे प्रधानमन्त्रीज्यूसँग, प्रधानमन्त्रीज्यूबाट यो सल्लाह सुझाव र गो अहेड आएपछि गृहमन्त्रीलगायत सिपाहीसम्म पुग्यो । गोली हानियो । मारिएको त छात्रछात्रा स्कुलका विद्यार्थी । यो मर्डर हो । तपाईंहरू हत्यारा हो ।’

उनले भनेका छन्, ‘त्यो गोली हान्ने सिपाही मात्र होइन । यो चेन छ नि पूरै चेन, जहाँबाट यो सरसल्लाहदेखिको गो अहेड आदेश आयो नि तपाईंहरू सबै हत्यारा हो । र, यो कोर्टमा पुग्नुपर्छ । यसै छोडिनु हुँदैन राजीनामाले केही चल्दैन । यो कोर्टमा पुगिनुपर्छ । जो–जो तपाईंहरू इन्भल्भ हुनुहुन्छ, तपाईंहरूलाई सख्त सजाय हुनुपर्छ । यो आन्दोलन अब जेन–जीको मात्र रहेन । तपाईं–हामी सबैको रह्यो । उमेरमा जेन–जी नहुँला मन मस्तिष्कमा हामी जेन–जी हौं । अब अगाडि बढ्यो । यी हत्याराहरूलाई छोडिने छैन ।’

२४ भदौको बेलुका ७:०३ बजे फेसबुकमा ‘रवि (लामिछाने) र राजाको यो समय हैन है साथी हो । हामीलाई चाहिएको त्यो भन्दा धेरै माथि हो’ लेखेका छन् । २५ भदौ बिहान ११:३५ बजे ‘प्रचण्ड कहाँ छन् ? कसैलाई थाहा छ ?’ भन्दै लेखेका छन् । २५ भदौ राति ९:०३ बजे उनले अर्को पोस्ट गरेका छन्, जसमा ‘बालेन कहाँ जानुभयो ? अब बोल्ने समय आयो यार’ लेखेका छन् । ३० भदौमा उनी आफैंले ‘हाम्रा बच्चाहरूको हत्या गर्नेहरू, तोडफोड गर्नेहरू र लुट्नेहरूलाई पक्राउ गर्नुपर्छ’ भन्दै पोस्ट राखेका छन् ।

निर्देशक अमनप्रताप अधिकारीले शनिबार अराजक र अश्लील टिप्पणी गरेको आफ्नो भिडियो सामग्री सार्वजनिक भएपछि ‘हत्यारा समाऊ’ भन्दै अभिव्यक्ति दिएका छन् । शनिबार दिउँसो १२:३३ बजे उनले लेखेका छन्, ‘न्यायको प्रतीक्षामा सहिदका परिवार छन्, घाइतेहरू अझै अस्पतालमा छट्पटाइरहेका छन् । चाकरी छोडौं, हत्यारा समाऊ ।’

***

२४ भदौको प्रदर्शनमा देखिएका क्याप्टेन तथा कलाकार विजय लामा पनि आलोचित बनेका छन् । रमनराई४०६ नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको फोटोका कारण उनी आलोचित बनेका हुन् । फोटोमा उनी त्यो दिन प्रदर्शनकारीसँगै देखिएका छन्, पछाडि जलिरहेको संरचना देखिन्छ । उक्त संरचना युलेन्स स्कुलको भएको र स्कुल जल्दा खुसी मनाएको आरोप लामामाथि छ । 

लामाले २४ भदौको ८:३३ बजे फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको आभास नपाएर जेन–जी पुस्ता सडकमा उत्रन बाध्य भएका हुन् । सामाजिक सञ्जाल बन्द हुनु त निहुँ मात्र हो । भ्रष्टाचार र कृपावाद अन्त्यका लागि आवाज उठाउनु अपराध होइन । एकै दिन २० युवा मारिनु हत्या हो, न्यायको अपमान हो । देशभित्रका मात्र होइन, विदेशका युवा पनि आक्रोशित छन् । यो अब व्यक्तिगत होइन, राष्ट्रिय चेतको मुद्दा बनेको छ ।’ त्यही दिन ४:४४ बजे लामाले एक भिडियो जारी गर्दै भनेका छन्, ‘हिजोको घटनापछि देशभरका नेपालीले ठूलो साथ दिइरहेका छन् तर जनताभन्दा माथि तपाईंहरू हुनुहुन्न । साना–साना स्कुलका नाबालकलाई गोली हान्नु स्वीकार्य छैन । बर्दीले मर्यादा र सुरक्षा दिन्छ । त्यसको दुरुपयोग हुनु हुँदैन । अन्तरिम सरकार बनाउँदा पार्टीसँग आबद्ध व्यक्तिलाई मन्त्री पदमा नल्याउनुस् र पेसागतहरूलाई जिम्मेवारी दिनुस् । घरमै बसेर मात्र टिप्पणी नगरी सडकमा आएर साथ दिनुस् । आवश्यक परे म पनि सडकमा हुनेछु । यो ऊर्जा शान्तिपूर्ण र संगठित तरिकाले अगाडि बढाउनुपर्छ, हिंसा र लुटपाट घटाउनुहोस्, अरूको परिवार र भविष्यप्रति संवेदनशील बनौं ।’

लामाले आफू प्रदर्शनमा सहभागी रहेको फोटो पनि २४ भदौको राति १०:३७ मा पोस्ट गरेका छन् । क्याप्सनमा उनले लेखेका छन्, ‘दिउँसोभरि नै तनावग्रस्त रह्यो देशभरि ! जेन–जी प्रोटेस्ट मुभमेन्टलाई साथ दिँदै ललितपुरका विभिन्न ठाउँमा पुगेँ । आज जे पनि भइरहेको छ, यो सबै नेताहरूकै कारण हो । जेन–जीको सेन्टिमेन्टसँग खेलबाड गरेको अनि भ्रष्टाचारको कुनै सीमा नरहेको परिणाम हो यो ! त्यति मात्रै हैन, ती नेताहरू अनि राजनीतिक दलहरूका दम्भ र हेपाहा प्रवृत्ति नै मुख्य कारण हुन् । आज जनताको जित हुनुमा जेन–जीकै प्रमुख भूमिकाको नतिजा हो ! मेरो विनम्र अनुरोध सम्पूर्ण जेन–जीमा...अब तपाईंहरू सबैलाई आआफ्नो घर फर्कन विनम्र अनुरोध गरेँ ।’

***

२४ भदौको प्रदर्शनमा कलाकारको भूमिकालाई लिएर आलोचना भइरहँदा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चरित्रहत्याको प्रयास भएको प्रतिक्रिया दिएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकद्वारा शनिबार जारी विज्ञप्तिमा कलाकारलाई लक्षित गरी नियोजित चरित्रहत्या र अपराधीकरणको प्रयास भएको उल्लेख छ । सामाजिक सञ्जाल र केही राजनीतिक मञ्चबाट कलाकारलाई सामाजिक बहिष्कारको धम्की दिने, झूटो दोषारोपण गर्ने र अभद्र भाषा प्रयोग गरी नियोजित रूपमा बदनाम गर्ने कार्यको प्रतिष्ठानले निन्दा गरेको छ ।

विज्ञप्तिमा सामाजिक रूपान्तरणमा कलाकारको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आएको स्मरण गराइएको छ । यस्तो सामाजिक सहभागितालाई अपराधीकरण गर्ने यो प्रयास गलत भएको र यसले लोकतन्त्रको जगमाथि नै प्रहार गर्ने प्रतिष्ठानको ठहर छ । ‘सामाजिक सरोकारबारे बोल्नु वा आन्दोलनमा सहभागी हुनु नै अपराध हो भने, अहिलेसम्मका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा सहभागी हुने नागरिक र नेतृत्वकर्ताहरू के अपराधी ठहरिनेछन् ?’ विज्ञप्तिमा भनिएको छ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully