सर्वोच्चसहित देशभरका अदालत तथा न्यायालयसँग सम्बन्धित संरचनामा पुगेको क्षतिको विषयमा छलफल गर्न अर्थमन्त्री खनाल प्रधानन्यायाधीशसँगै सर्वोच्च पुगेका हुन् ।
काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिबीच आगजनीमा परेको सर्वोच्च अदालतसहित न्यायालयसँग सम्बन्धित भौतिक पूर्वाधारको क्षतिको विषयमा छलफल गर्न अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् ।
अर्थमन्त्री खनाल आइतबार दिउँसो सर्वोच्च अदालतसहित देशभरका अदालत तथा न्यायालयसँग सम्बन्धित संरचनामा पुगेको क्षतिको विषयमा छलफल गर्न सर्वोच्च अदालत पुगेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश र उच्च पदस्थ कर्मचारीसँग अर्थमन्त्री खनालले छलफल गरेका छन् ।
आइतबार नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानन्यायाधीश राउतसँगै अर्थमन्त्री पनि सर्वोच्च अदालत पुगेका हुन् ।
देशभरका २३ अदालतमा क्षति पुगेको छ । जसमध्ये सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालतको भवन प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन् ।
