सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि गृहमन्त्रीको आह्वान

राजनीतिक शक्ति र आन्दोलनकारीलाई अनुरोध गर्दै उनले भने, 'सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन ।'

कार्तिक ८, २०८२

कान्तिपुर संवाददाता

Home Minister calls for dialogue with groups protesting on the streets

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे । 'राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन,' गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।  

'सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो,' उनले भने ।

बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।

कान्तिपुर

Link copied successfully