तिहारसँगै देउसी, भैलो जोडिएर आउँछ । तर, मसँग देउसी, भैलो खेल्न गएको कुनै अनुभव नै छैन । अहिलेसम्म मलाई परिवारले देउसी, भैलो खेल्न दिनु भएन । खेल्ने साथीहरु भएनन् । तर अरुले खेलेको देख्दा एकदम मज्जा आउँथ्यो ।
What you should know
काठमाडौँ — तिहारको रमाइलो भनेकै घरपरिवार र आफन्तका दाजूभाइसँग गर्ने रमझम हो, मेरो लागि । घरलाई बत्तिले सजाउने, फूलले सिंगार्ने । तिहारमा म नयाँ कपडा किन्छु । मिठो-मिठो पकाउँछु । तास खेल्छु अनि ‘म्ह:’ पूजा गरेर तिहार मनाउँदै आएको छु ।
तिहारमा जताततै बत्ति हुन्छु । मलाई यो चाड त्यसैले पनि खास लाग्छ । तिहारको अर्को विशेष लाग्ने दिन चाहिँ भाइटीका नै हो । एकदम रमाइलो लाग्छ, मलाई भाइटीका । मेरो फेरि एकदम पृथक कथा छ, भाइटीकासँग जोडिएको । म घरको एक्लो छोरा । दिदीबहिनी कोही हुनुहुन्न । त्यसैले म सधैं फूपूहरुको हातबाट भाइटीका लगाउँछु । चारजना फूपूसँग टीका थापिरहेको हुन्छु ।
यो पटकको तिहार त अन्य बेलाको झैं विशेष नै छ । तर, यो तिहार म अलि व्यस्त हुँदैछु । ‘कुमारी’ र ‘बेवी’ भन्ने दुई गीत दर्शकबीच निकै चल्यो । त्यसैले जताततै दौडिरहनु परेको छ । विदेश जाने तयारी पनि चलिरहेको छ । अष्ट्रेलिया टूर फिक्स भइसक्यो । युकेको टुर पनि फिक्स भयो । त्यसैले व्यस्त छु, चाडको बेला पनि । फेरि अन्तरवार्तामा पनि समय दिइरहेको छु । ‘असन बजार’ भन्ने नयाँ बोलको गीतको पनि तयारी चलिरहेको छ । अहिले चार/पाँच वटा गीतको तयारीले तिहार व्यस्तव्यस्त बितिरहेको छ । ब्यान्डसँग अभ्यास गर्नैपर्यो ।
म नेवा समुदायको भएकोले पनि तिहारमा म्ह: पूजा हाम्रो विशेष रुपले मनाइने गरेको छ । म्ह: पूजाको अर्थ आफैंले आफैलाई गरिने पूजा हो । हामीकहाँ लक्ष्मी पूजाको भोलिपल्टै म्ह: पूजा हुने गर्छ । हामी त तिहारको यही समयमै ‘न्हु दया भिन्तुना ‘मनाउँछौं । नेवा समुदायले नेपाल संवत अनुसार यही समयमा नयाँ वर्ष मनाउँछ । ‘न्हु दया भिन्तुना’ मनाउन बिहान बसन्तपुर जाने गर्छु । साथीभाइसँग भेटघाट हुन्छ ।
तिहारसँगै देउसी, भैलो जोडिएर आउँछ । तर, मसँग देउसी, भैलो खेल्न गएको कुनै अनुभव नै छैन । अहिलेसम्म मलाई परिवारले देउसी, भैलो खेल्न दिनु भएन । खेल्ने साथीहरु भएनन् । तर अरुले खेलेको देख्दा एकदम मज्जा आउँथ्यो । इन्द्रचोकमा काकाको पसल छ । त्यहाँ देउसी, भैलो खेल्न बच्चाहरु आउँछन् । उनीहरुले देउसी, भैलो खेलेको देख्दा एकदम रमाइलो लाग्छ मलाई ।
सानो हुँदा तिहारमा पटाका हातैमा पड्किएको अहिले पनि सम्झन्छु । खासमा पटाका फाल्नै लाग्दा हातमै पड्किएको थियो । हुन त म खासै पटाका पड्काउँदिन थिएँ । तिहारको बेला कहिलेकाहीँ मात्रै पड्काउन पाउँथ्यो । कहिलेकाहीँ पड्काउँदा पनि हातमै पड्कियो । एकदम दुखेको थियो । त्यतिबेला गोलभेँडा दलेर दुखाई कम गर्ने कोसिस गरियो । आइस पनि हालें । सायद म त्यतिबेला १४/१५ वर्षको थिएँ । अहिले चाहिँ म पटका पड्काउँदिन ।
पटका पड्काउँदा यसले वातावरण, र जनावरमा पर्ने असर बुझ्ने भएँ । अब त मलाई खासै पटाका पड्काउन पनि मन लाग्दैन । कुकुरहरु डराउँछन् नि पटका पड्काउँदा । मेरो आफ्नै कुकुर पनि पटका पड्केको आवाजले तर्सिरहेको हुन्छ । उजन शाक्यसँग रीना मोक्तानले गरेको कुराकानीमा आधारित
