विदेशमा बस्ने नेपालीको तिहार

जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता मुलुकमा बसोबास गरिरहेका नेपालीले वर्षैपिच्छे सामाजिक सञ्जालमार्फत तिहारको झल्को दिँदै घरप्रतिको माया व्यक्त गरिरहेका हुन्छन् ।

कार्तिक ६, २०८२

कान्तिपुर संवाददाता

Tihar for Nepalis living abroad

What you should know

काठमाडौँ — नेपालीहरूको दोस्रो ठूलो चाड तिहार । रङ, प्रकाश र आत्मीयताको पर्व । विशेषगरी दाजु–बहिनीको सम्बन्धलाई समर्पित भाइटीका तिहारको मुख्य आकर्षण हो । तर यही चाड विदेशमा बस्ने नेपालीहरूका लागि भने सम्झनाको भारी बोकेको दिन बन्छ ।

परदेशमा बस्दै आएका हजारौं नेपाली तिहारमा बाल्यकाल, परिवार र आफ्ना प्रियजनप्रति ज्यादै भावुक हुन्छन् । उनीहरूका लागि तिहारको उल्लास त्यति सहज हुँदैन ।

जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता मुलुकमा बसोबास गरिरहेका नेपालीले वर्षैपिच्छे सामाजिक सञ्जालमार्फत तिहारको झल्को दिँदै घरप्रतिको माया व्यक्त गरिरहेका हुन्छन् । घरमा जस्तो देउसी–भैलोको धुन, सयपत्री र मखमली मालाको सौन्दर्य, दाजुभाइसँगको रमाइलो र टीकाको त्यो पल विदेशमा कल्पनामा मात्र सीमित हुन्छ ।

जापानमा बसोबास गरिरहेकी दीक्षा श्रेष्ठले विदेशमा चाडपर्व मनाउँदा खल्लोपन महसुस हुने बताउँछिन् । उनी भन्छिन्,  ‘म जापान आएदेखि अहिलेसम्म भाइटीका मनाउने मौका पाएकै छैन ।’ जापानमा तिहारका अधिकांश सामग्री उपलब्ध भए पनि सयपत्रीको माला भने सजिलै पाइँदैन । यद्यपि उनले हरेक वर्ष भाइटीकाको दिन भिडियो कलमार्फत दाजुभाइसँग टीका लगाउने परम्परा निभाउँदै आएकी छन् ।

विदेशमा तिहार आउँदा उनलाई झनै खल्लो लाग्ने गरेको छ । ‘तिहार आउनेबित्तिकै नरमाइलो महसुस हुन्छ, तर अर्को साल फर्केर धुमधामले मनाउँछु भनेर आफैलाई सम्झाउँछु,’ उनी भन्छिन् । उनले दाजुभाइसँग तास खेल्दै रमाइलो गरेको, दाजुभाइबाट दक्षिणा लिएको पलहरू सम्झँदै विदेशमा त्यो अभाव गहिरो अनुभूति हुने बताइन् ।

विदेशमा रहेका नेपालीहरू अब भिडियो कल र डिजिटल प्लेटफर्ममार्फत तिहार मनाउने गरेका छन् । दीक्षा भन्छिन्, ‘म जापान आएकै दिनदेखि अहिलेसम्म आफ्ना दाजुभाइसँग प्रत्यक्ष टीका लगाउन पाएकी छैन । भिडियो कलमार्फत भाइटीका गर्ने गरेकी छु । त्यो दिन काममै बिताउन मन लाग्छ किनभने काममा व्यस्त हुँदा सम्झना आउँदैन ।’

नेपालमा टीका लगाएर दक्षिणा दिने परम्परा विदेशमा गिफ्ट अनलाइनमार्फत पठाएर पूरा गरिन्छ । कतिपयले आफ्ना आफन्तलाई पैसा वा सामग्री पठाउँछन् भने कोही केवल सम्झनामा सीमित रहन्छन् ।

दीक्षाले भाइटीकाको दिन बिदा लिने सम्भावना पनि कम हुने बताइन् । ‘म त्यो दिन काममै बिताउँछु ताकि चाडको सम्झनाले मन भावुक नहोस्,’ उनले थपिन्, ‘जब नजिक हुन्छौं त्यसको महत्त्व बुझिन्न, टाढा पुगेपछि मात्र थाहा हुन्छ भनेझैं लाग्छ ।’

विदेशी जीवनशैली व्यस्त भएकाले नेपाली चाडपर्वका लागि विशेष समय निकाल्न मुस्किल हुने उनको भनाइ छ । जापानमा नेपालीहरूको बाक्लो उपस्थिति नहुने भएकाले देउसी–भैलो जस्ता सामूहिक कार्यक्रम पनि नहुने उनले सुनाइन् ।

तिहारमा उनले घरमै झिलिमिली बत्ती बालेर, मिठा परिकार पकाएर मनाउने प्रयास गरेकी छन् । ‘मलाई लाइटिङ एकदमै मनपर्छ, त्यसैले तिहारमा बत्ती बालेर त्यो माहोल बनाउन खोज्छु,’ उनले भनिन् ।

अमिका क्षेत्री बेलायतमा बसेको धेरै वर्ष भइसकेको छ । उनका लागि तिहार अब ‘उत्सवभन्दा बढी सम्झनाको दिन’ बनेको छ । ‘विदेशमा तिहार मनाउँछु तर मन भने सधैं नेपालमै हुन्छ,’ उनी भन्छिन्, ‘काममा छुट्टी मिल्दैन, दाइ नेपालमै हुनुहुन्छ । त्यसैले तिहारको उमंग नेपालजस्तो हुँदैन ।’

तर त्यो अर्थमा उनको लागि तिहार हराएको छैन । उनी आफैं सेलरोटी बनाउँछिन्, माला किन्छिन्, साँझ लक्ष्मी पूजा गर्छिन् । दिनभर ब्रत बसेर साँझ दियो बाल्छिन् । उनलाई यो उज्यालोले नेपालका सयपत्री र मखमली फूल, आँगनमा बसेर सिउँदै गरेको माला र गाउँघरमा गुन्जिएको देउसी–भैलो सम्झाइदिन्छ । दाइ नेपालमा नै भएकाले उनी भाइटीका मनाउँदिनन् । भिडियो कलमै आशीर्वाद लिन्छिन् ।

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने मुनमुन पाण्डेले पनि तिहारमा आफ्नो घर झिलिमिली बनाउँछिन् । दियो, पाइला, माला । सबै उनले आफैं तयारी गर्छिन् । ‘नेपालमा हुँदा पाइला बनाउने, घरभरि दियो बाल्ने गर्थें । अहिले पनि त्यो चलन छोडेकी छैन,’ उनी भन्छिन् ।

नेपाली समुदाय धेरै बढेकाले विदेशमा सामूहिक रूपमा चाडपर्व मनाउने परम्परा बनेको उनको भनाइ छ । सन् २००६ देखि उनी सिड्नीमा बस्दै आएकी छन् । भाइ अस्ट्रेलियामै बस्ने भएकोले भाइटीका उनीहरूले मिलेरै मनाउँछन् । ‘नेपालबाट टीका, माला मगाउँछौं । सबै सामग्री यहाँ पनि पाइन्छ । भाइलाई टीका लगाउँदा लाग्छ, म नेपालकै माहोलमा छु,’ उनी भन्छिन् ।

मुनमुनका लागि तिहार केवल परम्परा होइन, भावनाको मिश्रण हो । ‘सप्तरंगी टीका, माला, आशीर्वाद र एकताको भावना । त्यो एक क्षणमा सबै माया एकै ठाउँमा आउँछ,’ तर उनलाई एउटा अधूरोपन महसुस हुन्छ, ‘मेरी दिदी नेपालमै हुनुहुन्छ । उहाँ पनि सँगै भएको भए अझ रमाइलो हुन्थ्यो ।’ नेपालमा जस्तो देउसी–भैलो, सयपत्री र मखमली फूल, घरघरको झिलिमिली उता छैन । तर परदेशमा बस्ने नेपालीहरूका लागि तिहार केवल पर्व होइन, आफ्नोपन र सम्झनाको पुनर्जागरण बनेको छ ।

परदेशमा तिहार आउँदा सबैको मन खुसी हुन्छ, तर उदासी पनि सँगै आउँछ । किनभने घरका सबै टाढा छन् । काममा बिदा पनि मिल्दैन । त्यसैले नेपालमा जस्तो रमाइलो वातावरण यहाँ नपाइने उनीहरू बताउँछन् ।

नेपालमा तिहार आउँदा देशभर उत्सवको माहोल हुन्छ । घर–आँगन सजाइन्छ, सडकहरू झिलिमिली बत्तीले चम्किन्छन् तर विदेशमा बस्ने नेपालीका लागि त्यो समय केही फरक हुन्छ ।

दीपा कार्की नेपालबाट दुई वर्षअघि अस्ट्रेलिया आएकी हुन् । विगत दुई वर्षदेखि आफ्ना दाजुलाई भाइटीका लगाउने मौका पाएकी छन् । उनी भन्छिन्, ‘मैले अस्ट्रेलिया आइसकेपछि दुई पटक भाइटीका मनाइसकेकी छु । पहिलो वर्ष दाजुकहाँ गएर टीका लगाएँ । तर यसपटक भने समय र कामका कारण मिलाउन गाह्रो भएकाले बर्सेनि पालैपालो जाने र आउने सहमति गरेका छौं ।’ उनका दाजु पनि अस्ट्रेलियामै भए तापनि उनी फरक स्टेटमा बस्ने भएकाले फ्लाइटमै झन्डै दुई घण्टा लाग्ने बताउँछिन् ।

नेपालमा हुँदा दाजुलाई धेरै मिस गर्ने दीपा अहिले भने आफूलाई ‘ब्लेस्ड’ महसुस गर्ने बताउँछिन् । किनभने विदेशमै भए पनि दाजुसँग भेट भएर टीका लगाउन पाउने अवसर मिलेको छ ।

कान्तिपुर

Link copied successfully