चितवनमा आइतबार रातिदेखि लगातार चार मोटरसाइकल दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् भने पछिल्लो दुर्घटनामा टंकप्रसाद थापाको निधन भएको छ।
चितवन — भरतपुर महानगरपालिका-१२ गोन्द्राङमा बिहीबार बिहानीपख भएको मोटरसाइकल दुर्घटनामा एक जनाको निधन भएको छ ।
चितवनमा आइतबार रातियता लगातार भएको यो चौथो मोटरसाइकल दुर्घटना र पाँचौँ मृत्यु हो । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरणअनुसार आज बिहान सवा चार बजे गोन्द्राङमा राजमार्गको डिभाइडरमा मोटरसाइकल आफैं अनियन्त्रित भएर ठोक्किँदा पछाडि बसेका युवकको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले मृत्यु हुने तनहुँ देवघाट गाउँपालिका-२ घर भई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका-१ बस्ने ४४ वर्षका टंकप्रसाद थापा रहेको जनकारी दिएका छन् । गैँडाकोट-१ कै २६ वर्षीय केशव घर्ती मगरले चलाएको ग १० प ६१२२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएको हो । मोटरसाइकल टाँडीबाट भरतपुर तर्फ आउँदै थियो ।
चालक केशवको अवस्था मध्यम छ । उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल ठोक्किएपछि गम्भीर घाइते भएका पछाडि बसेका टङ्कप्रसाद थापाको पनि उपचारको क्रममा सोही अस्पतालमा बिहान पौने पाँच बजे निधन भएको डिएसपी खनालले बताए ।
चितवनमा यसअघि बिग्रेर सडकमा रोकिएको ग्यास बुलेटमा मोटरसाइकल ठोक्किँदा एक जना, मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टँदा एक जना र स्कुटर आफै अनियन्त्रित भएर पल्टँदा दुई जना गरी चार जनाको ज्यान गइसकेको छ । आइतबार यताका यी सबै दुर्घटना राति १० बजेपछि नै भएका छन् ।
