अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१ औँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अस्ट्रेलियन सभामुखसँग भेट गरेका हुन् ।
What you should know
जेनेभा — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१ औँ महासभाको सन्दर्भमा जेनेभामा रहेका अध्यक्ष दाहालले अस्ट्रेलियन सभामुखसँग भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको थियो ।
अस्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे ।
१ लाख ८० हजार बढी नेपालीहरू अस्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थीहरू अस्ट्रेलियामा अध्ययन गरिरहेको बताए।
अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे।
आईपीयू महासचिव र भारतीय प्रतिनिधि मण्डलसँग भेट
यसैबीच अध्यक्ष दाहालले जेनेभामा भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तर व्यवस्थापिका संघ (आईपीयू) का महासचिवसँग भेटवार्ता गरेका छन् ।
भेटमा अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेन–जी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।
त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरेे ।
