६९ लाख ८५ हजार नगद तथा गहनासहित एक चिनियाँ युवक र नेपाली युवती पक्राउ

काेठामा खानतलासी गर्दा सुटकेस र सोफामूनि लुकाई राखेको अवस्थामा ६९ लाख ८५ हजार नेपाली रूपैयाँसहित र सुन जस्ताे पहेँलाे धातुका बिभिन्न गहना फेला पारेको हाे ।

कार्तिक ६, २०८२

कान्तिपुर संवाददाता

A Chinese man and a Nepali woman were arrested with Rs 6.985 million in cash and jewelry.

काठमाडौँ — काठमाडाैंकाे नागार्जुन नगरपालिका २ सानो भर्याङबाट अबैध रकम र सुनसहित एक चिनियाँ युवक र एक नेपाली युवती पक्राउ परेका छन् ।

मंगलबार राति साढे ११ बजेतिर नागार्जुन नगरपालिका २ सानो भर्याङमा रहेको सरिता महर्जनको घरको भाडा लिएर बस्ने चिनियाँ नागरिक ३८ वर्षीय जाइओ गाङ र धादिङ निलकन्ठ नगरपालिका २ की २२ वर्षीया रोजिना सुनारलाई पक्राउ गरेकाे हाे ।

महर्जनकाे घरको दोस्रो तलामा बस्ने उनीहरूकाे काेठामा खानतलासी गर्दा सुटकेस र सोफामूनि लुकाई राखेको अवस्थामा ६९ लाख ८५ हजार नेपाली रूपैयाँसहित र सुन जस्ताे पहेँलाे धातुका बिभिन्न गहना फेला पारेको हाे । उनीहरू दुवैलाई प्रहरी वृत स्वयम्भुकाे नियन्त्रणमा राखेर अनुसन्धान भइरहेकाे छ ।  

उनीहरूकाे काेठाबाट ६९ लाख ८५ हजार रुपैयाँ, सुन जस्तो देखिने पहेलो धातुको नेकलेस २ थान,  झुम्का २, बिभिन्न साईजका बाला ४, बिभिन्न साईजको औठी ३, नथी १, शीरबन्दी १, आईफोन ४,  म्याकबुक १,  मोबाईल १,  बा.प्र. ०१ -०३१ प ५२६२ नम्बरको बीवाइडी गाडी १ थान बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।  

सोही घरमा बस्ने अन्य चार महिलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएकाे प्रहरी वृत्त स्वयम्भूले जनाएकाे छ । 

कान्तिपुर संवाददाता

Link copied successfully