छठपर्व नजिकिँदै गएपछि वीरगञ्जसहित पर्सा जिल्लामा अवस्थित विभिन्न पोखरीलाई स्थानीयको सहयोगमा विशेष रूपमा सिँगार्ने काम भइरहेको छ ।
What you should know
वीरगञ्ज (पर्सा) — पर्सामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका पोखरी तथा नदी किनारामा विभिन्न प्रकारको सजावटसहितको सिँगार्ने काम भइरहेको छ ।
छठ नजिकिँदै गएपछि वीरगञ्जसहित पर्सा जिल्लामा अवस्थित विभिन्न पोखरीलाई स्थानीयको सहयोगमा विशेष रूपमा सिँगार्ने काम भइरहेको हाे । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ ।
मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।
प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले छठ पर्वका लागि आवश्यकपर्ने सामानको जोहो गर्न किनमेल गर्नेको भीड पनि विस्तारै देखिन थालेको छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठ पर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिसकेको जानकारी दिए । 'हामीले गत वर्षकोभन्दा पनि यसपालीको छठमा घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलीमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्नेगरी काम थालिसकेका छौं,' उनले भने, 'यो वर्ष पनि विगतको वर्षमा जस्तै भव्य र सभ्य गरी छठ पर्व मनाइनेछ ।' अध्यक्ष कानुले छठ पर्वको शृङ्गार तथा सजावटको अन्तिम काम भने तिहारपछि तीव्र गतिमा हुने बताए ।
वीरगञ्जको घडीअर्वाको छठ पर्व हेर्नका लागि छिमेकी मुुलुक विहार राज्यका विभिन्न जिल्ला र नेपालका पनि विभिन्न सहरबाट सर्वसाधारण आउने गरेका छन् । घडीअर्वाको छठ पर्वमा मात्रै एक लाखभन्दा धेरैले दर्शनार्थीले हेर्ने आयोजकको दाबी छ । तराई–मधेसका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् ।
यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । 'छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,' अध्यक्ष कानुले भने, 'वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आकर्षण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ ।'
घडीअर्वाको छठ व्यवस्थापनका लागि करिब २२ लाख रूपैयाँ खर्च लाग्ने अध्यक्ष कानुले बताए ।
