'फागुन २१ मा चुनाव सम्पन्न गरी यो सरकारले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुपर्छ भनेका छौं । सरकार अनन्तकालसम्म जान खोज्यो भने विरोध गर्छौं भनेका छौं : सोबिता गौतम
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई प्राप्त 'म्यान्डेट' समयसीमाभित्र सम्पन्न गर्नुपर्ने बताएको छ । कार्की नेतृत्वको सरकारप्रति पार्टीको सद्भाव र समर्थन रहेको तर त्यो निशर्त र अनन्तकालीन हुन नसक्ने स्पष्ट पारेको हो ।
मुलुकलाई संविधानको मार्गमा लैजानका लागि आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउँदै रास्वपाले सरकार त्यसका लागि वातावरण बनाउन लाग्नुपर्ने बताएको छ ।
प्रधानमन्त्री कार्कीले मंगलबार बालुवाटारमा बोलाएको छलफलमा रास्वपाले जेन-जीले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै निर्वाचन समयमै सम्पन्न गर्न सरकार लाग्नुपर्ने स्पष्ट पारेको हो ।
प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोबिता गौतम सहभागी थिए । बैठकमा पार्टीले राखेका विषयबारे वाग्लेले भनेका छन्, 'रास्वपाका सुशासन केन्द्रित मुद्दा एवं जेन-जीका माग एउटै रहेकोले सुशीला कार्कीको सरकारप्रति पार्टीको सद्भाव र शुभेच्छा रहेको छ । तर हाम्रो समर्थन नि:शर्त एवं अनन्तकालीन हुन नसक्ने, प्रतिशोधको राजनीतिविरुद्ध सरकार उभिएको देखिनुपर्ने ।'
अहिलेको सरकारले तोकिएको मितिमा चुनाव गराएर शान्तिपूर्ण सत्ता हस्तान्तरणमा लाग्नुपर्ने विषय राखेको गौतमले बताइन् । 'फागुन २१ मा चुनाव सम्पन्न गरी यो सरकारले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुपर्छ भनेका छौं । सरकार अनन्तकालसम्म जान खोज्यो भने विरोध गर्छौं भनेका छौं,' गौतमले भनिन् ।
भदौ २३ र २४ को प्रदर्शन र हिंसापछि आफ्रनाे पार्टीले नै चुनाव मागेको कुरा रास्वपाले बैठकमा राखेको थियो । भदौ २३ को नरसंहार र २४ को हिंसा-आगजनीबारे छानबिन गर्न तथा प्रहरीको मनोबल उच्च राख्न पनि रास्वपाले सरकारसँग माग गरेको छ ।
