पत्नी राधिका शाक्यसँगै बालकोट पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार आगलागीबाट जलेका घरका संरचनाहरुको अवलोकन गरेका हुन् ।
What you should know
भक्तपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा जगाइएको बालकोटस्थित आफ्नो निवास अवलोकन गरेका छन् ।
पत्नी राधिका शाक्यसँगै बालकोट पुगेका ओलीले आगलागीबाट जलेका घरका संरचनाहरुको अवलोकन पछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ २४ मा पहिलेदेखि कै योजना अनुसार आफू बस्ने घर आगलागी गरी लुटपाट गरेको बताए । खासगरी सरकारका सार्वजनिक सम्पत्ति, अदालतका मुद्दा मामिलाका मिसिल फाइल, सिंहदरबारमा ऐतिहासिक दस्तावेजहरु जलाएर नेपालकाविरुद्ध भयानक षडयन्त्र गरेको अध्यक्ष ओलीको आरोप थियो ।
अध्यक्ष ओलीले आन्दोलनका क्रममा उद्योग व्यवसाय प्रतिष्ठानहरु, केबलकार र विद्यालय र कलेजहरु जलाएर विद्यार्थीहरूलाई पोसाकमै आन्दोलन गर्न उक्साएर दुरुपयोग गरेको बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न र रोकिएका सामाजिक सञ्जालहरु सञ्चालन गर्ने सामान्य मागसहित विद्यार्थीहरू सडकमा आएको तर जेन–जीका नाममा योजनाबद्ध ढंगले आगजनी, तोडफोड र लुटपातका घटना घटाइएको अध्यक्ष ओलीले आरोप लगाए ।
आगजनी र लुटपाट गर्नेहरूलाई सप्रमाण पक्राउ गरिए पनि गृहमन्त्रीले कानुनी कारबाही नगरी रिहा गर्न आदेश दिएको बताउँदै गृहमन्त्रीको अभिव्यक्तिले पनि आगजनी, लुटपाट र तोडफोडको मनोभाव देखिएको उनको भनाइ थियो । गृहमन्त्री ओमप्रकाश आर्यालले आफूमाथि व्यक्तिगत दुस्मनी साँधेकोसमेत अध्यक्ष ओलीले बताए । आफूले गृहमन्त्रीको साँधसिमाना पनि नमिचेको र गृहमन्त्रीको घर कहाँ हो भन्ने पनि थाहा नभएको उनको भनाइ थियो ।
पछिल्लो घटनाक्रमबाट सरकारले आफूमाथि थप केही गर्न खोजेको आशंका रहेको अध्यक्ष ओलीले बताए । गृहमन्त्री आफैंले जेन–जीलाई बोलाएर कारबाहीका निम्ति डेलिगेसन बोलाउँदै निवेदन माग्ने काम गरेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले पहिले नै सरकारको नाममा घर बकसपत्र पास गरिदिएको बताउँदै आफू बाँचुञ्जेल मात्रै यो घरमा बस्ने अनुमति रहेको बताए । उक्त घर पुनर्स्थापना गर्ने र नगर्ने भन्ने काम सरकारमा निहित रहेको उनले बताए । घरमा आगजनी र तोडफोड गर्नेमाथि सरकारले कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
