चुनाव सफल बनाउन दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : पुन 

‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन’

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Parties should support the government to make the elections successful: Pun

What you should know

काठमाडौँ — राजनीतिक दलहरूले प्रतिनिधिसभाको फागुन २१ का लागि तोकिएको चुनाव सफल पार्न सरकारलाई सहयोग गर्नुपर्ने माओवादी उपमहासचिव वर्षमान पुनले बताएका छन् ।

मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्नका लागि माओवादीले सरकारलाई सहयोग गर्ने बताए । कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन उनले आग्रह गरे ।

संवैधानिक रूपमा देशलाई अगाडि बढाउनका लागि प्रतिनिधिसभाको चुनाव सफल पार्नुको विकल्प नभएको पुनले बताए । ‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ उनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौं र अरु दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं ।’

चुनावको वातावरण बनाउनका लागि सरकारले पहल गर्नुपर्ने बारेमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल भएको पनि पुनले बताए । केही दिन पहिले आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको पनि पुनले बताए । ‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेड र म गएका थियौं । हामीले भन्यौं- चुनावको पक्षमा छौं । हामी चुनावको वातावरण बनाउछौं तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं,’ उनले सुनाए, ‘आज पनि सात पार्टीहरूलाई राष्ट्रिय पार्टीहरुलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ । हामी जान्छौं । हामी यही कुरा भन्छौं ।’

पुनले २३ गनेको जेन-जी आन्दोलन सही भएको र २४ गतेको विध्वंस जेन-जीले नभई घुसपैठ गराएको बताए । २३ र २४ गतेका दुवै अपराध कर्ममा संलग्माथि कारबाही गर्न पनि उनले माग गरे ।

विघटित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेन-जी आन्दोनलमार्फत विष्फोट भएको पुनको भनाइ थियो । ओलीको स्वेच्छाचारिता, निरंकुशता र भ्रष्ट चरित्रविरुद्ध नयाँ पुस्ताको अगुवाईमा जनता सडकमा आएको उनको भनाइ थियो । प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटकपटक कार्यशैली सुधार्न र जनताको भावना बुझ्न आग्रह गरे पनि सरकारले नसुन्दा विस्फोटको अवस्था आएको उनले उल्लेख गरे । 

माओवादी र अरु पार्टी एकै हुन् भन्ने भाष्य स्थापित गर्ने प्रयास भइराखेको भन्दै पुनले सुशासनको मामिलामा अरु र माओवादी फरक भएको दाबी गरे ।

पुनले विगतमा चर्चामा रहेका सबै भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने भन्दै त्यसमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए । आफूहरूले सरकारमा बसेर पार्टी नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए । 

कान्तिपुर

Link copied successfully