निर्वाचनको आवश्यकतामा कसैको विमति छैन : प्रधानमन्त्री कार्की

'आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ ।'

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

No one disagrees with the need for elections: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको आवश्यकतामा कसैको विमति नरहेको बताएकी छन् ।

राजनीतिक दलका प्रतिनिधिससँग मंगलबार बालुवाटारमा छलफलपछि कार्कीले सामाजिक संजाल 'एक्स'मार्फत उक्त जानकारी दिएकी हुन् ।

सरकार गठन भएयता पहिलोपटक निर्वाचनबारे आफ्नै पहलमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलहरूलाई राखेर निर्वाचनबारे छलफल गरेका थिए । 

राजनीतिक दलहरूसँगको संवाद सौहार्दपूर्ण रहेको पनि प्रधानमन्त्री कार्कीले लेखेकी छन् । 'आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ । निर्वाचनको आवश्यकतामा कसैको विमति छैन,' प्रधानमन्त्रीको भनाइ छ, 'सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ । आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ ।'

छलफलमा सहभागी दलका नेताहरूले सरकारले चुनावका लागि वातावरण बनाउनुपर्ने बताएका थिए । सुरक्षालगायतका चासो दलहरूले राखेका थिए । एमालेले सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध नगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully