'हामी कुनै पनि खालको कानुनी प्रक्रियाले गर्ने छानबिन, कानुनी प्रक्रियाले गर्ने अनुसन्धानहरूमा खुला छौं'
What you should know
काठमाडौँ — सरकारमा रहेका जिम्मेवार व्यक्तिले पूर्वाग्रहपूर्ण र लाञ्छना लगाउने अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
मंगलबार सुर्खेतमा आयोजित गोविन्दबहादुर मल्लको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै कार्यवाहक सभापति खड्काले निर्वाचनको वातावरण बनेपछि पार्टी चुनावमा सहभागी हुने स्पष्ट पारे ।
सरकारमा रहेका व्यक्तिहरूले निर्वाचनको वातावरण बाउनुपर्ने खड्काको भनाइ थियो । प्रहरीको मनोबल बढाउने, राजनीतिक दलहरूलाई विश्वासमा लिने र मतदातालाई सुरक्षा व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने उनले बताए । 'प्रहरीका लुटिएका हतियार अझै फिर्ता भइसकेका छैनन् । भागेका कैदी अझै कानुनी दायरामा नआइसकेको अवस्था छ । प्रहरीको मनोबल इतिहासमै यति धेरै गिरेको थिएन,' खड्काले भने, 'चुनाव घोषणा गरेको सरकारले प्रहरीको मनोबल माथि उठाउनु छ, चुनावमा भाग लिने दलहरूको विश्वास जगाउनु छ, आम मतदातामा सुरक्षा व्यवस्था गर्नुछ ।'
कार्यवाहक सभापति खड्काले कानुनी प्रक्रियामा पार्टीले सहयोग गर्ने बताए । कानुनी प्रक्रियाअनुसार छानबिन गरिए सहयोग गर्ने बताउँदै सरकारमा रहेका व्यक्तिले भ्रम फैलाउने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो । 'हामी कुनै पनि खालको कानुनी प्रक्रियाले गर्ने छानबिन, कानुनी प्रक्रियाले गर्ने अनुसन्धानहरूमा खुला छौं तर पुर्वाग्रहपूर्ण तरिकाले लाञ्छना लगाउने, भ्रम सिर्जना गर्ने अनि अन्यायलाई बढाउने खालका अभिव्यक्तिहरू सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट आउनु दुर्भाग्यपूर्ण छ ।' यस्ता विषयमा सचेत रहन पनि खड्काले सरकारको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस आगामी फागुन २१ मा घोषणा गरिएको चुनावमा सहभागी हुन तयार रहेको खड्काले स्पष्ट पारे । 'हामी चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रवादी पार्टी हो, हामी चुनावका लागि तयार छौं,' उनले भने । चुनावमा सहभागी हुनेबारे पार्टीले चालु केन्द्रीय समितिबाट निर्णय लिने पनि उनले जानकारी दिए ।
