प्रधानमन्त्री र जेन–जी घाइतेबीच छलफल, भनिन्– ‘जेन–जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं’

आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Discussion between the Prime Minister and the injured Gen-G, she said - 'We will not go beyond the essence of the Gen-G movement'

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ।

घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बतायो । घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसकाविरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ।’ 

गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए । 

‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ। के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो । छलफलमा प्रधानमन्त्री कार्की,गृहमन्त्री अर्याल,ऊर्जामन्त्री कुलमान घिसिङ,शिक्षामन्त्री महावीर पुन,सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। 

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेन–जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आआफ्नो ठाउँबाट काम भइरहेको छ। तपाईँहरू बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला।’

घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए। गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू,लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताएका थिए।

कान्तिपुर

Link copied successfully