टिकटकर आँचल नाथ मृत्यु प्रकरण : पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

आँचलको आत्महत्या प्रकरणमा पाँचजनामध्ये सञ्जु विक पक्राउ परेका छन् भने अन्य चारजना फरार प्रतिवादी बनाइएकै अवस्थामा मुद्दा दायर भएको छ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Ticket-carrier Aanchal Nath death case: Case of abetment of suicide filed against five people

What you should know

काठमाडौँ — टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको हो ।

अदालतमा दायर मुद्दामा नरेफाँटका २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

केही म्युजिक भिडियोमा देखिएकी आँचल मोडलिङमा समेत सक्रिय थिइन् । दुई वर्षअघि जापानी भाषा अध्ययन गर्न गाउँबाट काठमाडौं आएकी उनी भक्तपुरमा डेरा लिएर बस्दै आएकी थिइन् ।

टिकटकमार्फत सञ्जुसँग चिनजान भएकी आँचल सरस्वती भण्डारीसँग केही समयदेखि विवादमा रहेको भन्दै उनका भिनाजु प्रकाशनाथ योगीले दिएको जाहेरीमा उल्लेख छ ।

‘सञ्जु विककी श्रीमती उर्मिलाले समेत विवादमा प्रोत्साहन दिने गरेकी थिइन्,’ जाहेरीमा भनिएको छ, ‘त्यही विषयमा असोज ९ गते अपराह्न ४ बजे सञ्जुको ग्यारेजमा छलफल भएको थियो । त्यस क्रममा उनीहरूले गालीगलौज गर्दै जथाभावी मुख छाडेर झगडा गरेका थिए र ज्यान मार्ने धम्की समेत दिएका थिए ।’

प्रहरीका अनुसार त्यसपछि आँचलले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएकी थिइन् । गम्भीर रूपमा घाइते भएपछि सञ्जुले उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

सञ्जुले भने प्रहरीलाई दिएको बयानमा आफूहरूले धम्की नदिएको दाबी गरेका छन् । ‘आगो बलिरहेको देखेपछि मैले ज्याकेटले निभाउन खोजेँ, त्यसले नभएपछि पानी खन्याएँ र ब्ल्याङ्केटले छोपेर ट्याक्सीमा अस्पताल लगेँ,’ उनले भनेका छन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार, ‘कसैलाई आत्महत्या गर्न उक्साउने वा त्यस्तो परिस्थिति खडा गर्ने काम गर्न नहुने’ भनिएको छ । यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजायको व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully