खड्काले भनेका छन्, ‘त्यो उत्पातपछि मैले त सहन सक्थेँ । श्रीमतीलाई ट्रमाजस्तो भयो । मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु ।’
काठमाडौँ — जेन-जी आन्दोलनलगत्तै देश छोडेका पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेश फर्किएका छन् । तराई हुँदै भारतको राजधानी नयाँदिल्ली पुगेको र परिवार अहिले पनि उतै रहेको उनले जानकारी गराएका छन् ।
‘त्यो उत्पातपछि मैले त सहन सक्थेँ । श्रीमतीलाई ट्रमाजस्तो भयो । त्यसैले केही दिन बाहिर निस्कनुपर्यो भनेर तराई गयौं । त्यहाँ डेंगी भयो । मलाई पनि भयो,’ सोमबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु । राजनीतिज्ञ हुँ, भाग्ने मान्छे होइन ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का भागेको जानकारी गराएका थिए । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा अर्यालले भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं ।’
गृह मन्त्रालयका अधिकारीहरूले पनि खड्काले स्थलमार्गबाट देश छाडेको पुष्टि गरेको समाचार कान्तिपुरमा प्रकाशन भएको थियो ।
खड्काले भने सरकार र 'कथित मिडिया'ले समाजलाई दिग्भ्रमित पारेकाले आफू फर्किएको बताएका छन् ।
