सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्का ‘शंकास्पद’ रूपमा विदेश पुगेका छन् ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Former Minister Khadka, who was dragged into a money laundering investigation, secretly went abroad.

What you should know

काठमाडौँ — पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्का ‘शंकास्पद’ रूपमा विदेश पुगेका छन् । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धानमा तानिएका खड्का गत महिना नै सुटुक्क विदेश पुगेका हुन् ।

स्थलमार्गबाट भारतको बाटो हुँदै उनी अमेरिका पुगेको आशंका गरिएको छ । २३ भदौमा भएको जेन–जी आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा भोलिपल्ट प्रदर्शन भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि खड्का पनि मन्त्रीबाट पदमुक्त भएका थिए । प्रदर्शनकारीले खड्काको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका थिए ।

त्यस क्रममा उनको निवासमा नेपाली र विदेशी नोट भेटिएको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । यसैलाई मुख्य आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको सम्पत्ति विवरण खोजबिन गरिरहेको छ ।

जेन–जी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका खड्का विदेश पुगिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले नै उल्लेख गरेका हुन् । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं’ भनेका छन् । खड्का कुन देश गए भन्नेबारे उनले खुलाएका छैनन् ।

अन्य सरकारी अधिकारीहरूले पनि यसबारे बताउन चाहेनन् । खड्काको यात्रा विवरण केलाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पछिल्लो पटक विदेश गएको कुनै पनि विवरण फेला पर्न सकेन । राहदानी विभागका अनुसार खड्कासँग मन्त्री र सांसदको हैसियतमा कूटनीतिक राहदानी छ । यो राहदानीबाट पछिल्लो पटक फेब्रुअरी २०२५ मा विमानस्थलबाट विदेश यात्रा गरेको देखिन्छ ।

खड्कासँग व्यक्तिगत राहदानी पनि छ । अमेरिकालगायत विभिन्न देशको भिसा भएको यो राहदानी मन्त्री र सांसद रहँदा पनि प्रयोग गरिएको देखिन्छ । व्यक्तिगत राहदानीबाट खड्का १३ अगस्ट २०२४ मा अमेरिकाबाट आएका थिए ।

गृह मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँ (खड्का) विमानस्थल प्रयोग गरेर अर्को देश गएको देखिँदैन, तर उहाँ अहिले विदेशमै भएको अनौपचारिक जानकारी आएको छ । यसको अर्थ स्थलमार्गबाट भारत हुँदै गएको हाम्रो पनि आशंका हो ।’ खड्का कुन रुटबाट विदेश गए भन्ने विषय खोजबिनका क्रममा रहेको ती अधिकारीले बताए ।

पूर्वमन्त्री खड्का मन्त्री र सांसद तथा व्यापारीका रूपमा रहँदा शंकास्पद कारोबार र गतिविधिमा संलग्न रहेको आरोप लागे पनि अनुसन्धानको दायरा बाहिरै थिए । ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेको, आर्थिक स्वार्थकै लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको, नेपाल स्काउटको जग्गा दुरुपयोग गरेकोलगायत विवादमा उनी तानिएका थिए ।

आफ्नो होटलमा लगेर संसदीय समितिको बैठक बसाली स्वार्थप्रेरित कानुन निर्माणमा चलखेल गराएको आरोप पनि खड्कामाथि छ । उनी आफैं पनि जलस्रोतसम्बद्ध व्यापारी हुन् । स्वार्थ बाझिने गरी खड्कालाई नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएकामा आलोचना भएको थियो ।

ooo

अपडेट 

जेन-जी आन्दोलनलगत्तै देश छोडेका पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेश फर्किएका छन् । तराई हुँदै भारतको राजधानी नयाँदिल्ली पुगेको र परिवार अहिले पनि उतै रहेको उनले जानकारी गराएका छन् ।

‘त्यो उत्पातपछि मैले त सहन सक्थेँ । श्रीमतीलाई ट्रमाजस्तो भयो । त्यसैले केही दिन बाहिर निस्कनुपर्‍यो भनेर तराई गयौं । त्यहाँ डेंगी भयो । मलाई पनि भयो,’ सोमबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मेदान्त अस्पतालमा उपचार गराएको रेकर्ड छ । श्रीमती र बच्चा उतै छन् । म अहिले आएको छु । राजनीतिज्ञ हुँ, भाग्ने मान्छे होइन ।’ 

गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का भागेको जानकारी गराएका थिए । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा अर्यालले भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं ।’

गृह मन्त्रालयका अधिकारीहरूले पनि खड्काले स्थलमार्गबाट देश छाडेको पुष्टि गरेको समाचार कान्तिपुरमा प्रकाशन भएको थियो ।

खड्काले भने सरकार र 'कथित मिडिया'ले समाजलाई दिग्भ्रमित पारेकाले आफू फर्किएको बताएका छन् ।

कान्तिपुर

Link copied successfully