तिहारमा मात्र ४१ हजार थान चाँदीका सिक्का बिक्री

औसत प्रतिथान ३१ सयका दरले तिहारको अवधिमा मात्र पौने १३ करोड बराबरको कारोबार

कार्तिक ३, २०८२

यज्ञ बञ्जाडे

41,000 silver coins sold during Tihar alone

What you should know

काठमाडौँ — यस वर्षको तिहारमा मात्र करिब ४१ हजार थान चाँदीका सिक्का बिक्री भएको छ ।

गुणस्तरीय (९९९.९९ टच) सुन नभएको भन्दै यस वर्ष असर्फी बिक्री नगरेको राष्ट्र बैंकले चाँदीका सिक्का मात्र वितरण गरेको थियो । सोही क्रममा करिब ४१ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष राष्ट्र बैंकले १०/१० ग्रामका सिक्का मात्र वितरण गरेको थियो । हरेक दिन चाँदीको बजार भाउअनुसार राष्ट्र बैंकले सो दिनको सिक्काको मूल्य तय गर्दै आएको थियो । यसअनुसार प्रतिदिन प्रतिथान सिक्काको मूल्य फरक फरक थियो । सो अवधिमा प्रतिथान ३ हजारदेखि ३ हजार ३ सयसम्ममा सिक्का बिक्री भएको थियो । औसतमा प्रतिसिक्का ३ हजार १ सयका दरले हिसाब गर्दा पनि करिब पौने १३ करोड रुपैयाँ बराबरको चाँदीको सिक्का बिक्री भएको बताइएको छ ।

सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ । तर राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । यसअनुसार ‘९९९.९९ टच’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । असर्फी बनाउन राष्ट्र बैंकले प्रयोग गर्ने यही सुन हो । त्यही गुणस्तरको सुन अभाव रहेको भन्दै यस वर्ष राष्ट्र बैंकले सुनका सिक्का बिक्री गरेन ।

सुनका सिक्का नभएपछि राष्ट्र बैंकले रुपैयाँ एक र दुईका सामान्य र चाँदीको सिक्का असोज ३१ सम्म बिक्री गरेको थियो । ती सिक्कालाई मेडालियन र स्मारिका नाम दिइएको छ । ती सिक्का चाँदी र किप्रोनिकल (तामा र निकल मिश्रण गरिएको) बाट पनि बनाइन्छ ।

मेडालियन भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी (निर्माण) गरिने सिक्का हो । प्रायः यी सिक्का चाँदीबाट बनाइन्छ । यी सिक्कामा विभिन्न किसिमका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाका चित्र अंकित गरिन्छ । कुन सिक्कामा कुन चित्र अंकित गर्ने भन्ने कुरा बजार मागमा निर्भर हुन्छ । हाल लक्ष्मी, गणेश र लक्ष्मी–गणेशको संयुक्त चित्र भएका चाँदीका सिक्काको माग धेरै रहेको राष्ट्र बैंकले बताएको छ । यी सिक्कामा अंकित मूल्य उल्लेख हुन्छ । सिक्का खरिद गर्दा अंकित मूल्यअनुसार नै रकम तिर्नुपर्छ ।

चाँदीलगायत अन्य धातु सम्मिश्रण गरी स्मारिका सिक्का बनाइन्छ । यो विशेष अवसरमा निष्कासन गरिने सिक्का हो । स्मारिका सिक्का निष्कासन गर्दा सरकारको अनुमति चाहिन्छ । यस्ता सिक्कामा राष्ट्रिय विभूति वा सरकारबाट अनुरोध भई आएका व्यक्तित्वसँग सम्बन्धित विषयवस्तु राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धि अंकित गरिन्छ । स्मारिका सिक्का पनि अंकित मूल्यमा बिक्री गरिन्छ ।

एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष एउटा व्यक्तिले बढीमा चार थान चाँदीका सिक्का उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ । चाँदीका स्मारिका र मेडालियन सिक्का खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि आवश्यक गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनचाँदीका सिक्का पनि सर्वसाधारणलाई वितरण गर्दै आएको छ । तर नोटको माग दसैंमा धेरै भएजस्तै सुन, चाँदीका सिक्काको माग तिहारमा धेरै हुने राष्ट्र बैंकका अधिकारी बताउँछन्  । एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । यसले पनि नेपालीहरूमा सुन र चाँदीका सिक्काप्रतिको मोह अचाक्ली रहेको पुष्टि हुन्छ ।

सुन र चाँदीको बजार मूल्यका आधारमा असर्फी, स्मारिका र मेडालियन सिक्काको मूल्य तोकिन्छ । बजारमा सुनका गहना खरिद गरेजस्तै राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ । बजारमा सुनचाँदी पसलमा पनि असर्फी र चाँदीका सिक्का बिक्रीका लागि राखिएको हुन्छ । तर राष्ट्र बैंक सरकारी निकाय भएकाले गुणस्तरमा विश्वस्त हुन सकिन्छ ।

यसकारण सर्वसाधारण राष्ट्र बैंकबाटै सिक्का खरिद गर्न रुचाउँछन् । सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर संस्थाको हकमा प्रतिग्राम ५ सय रुपैयाँ थप हुने राष्ट्र बैंकले बताएको छ ।

सम्बन्धित समाचार 

चाँदीका सिक्का किन्नेको भिड [तस्बिरहरू]

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully