प्रदर्शनका क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेसन चलाउने

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।

कार्तिक २, २०८२

न्युज एजेन्सी नेपाल

Home Ministry to launch special operation to recover weapons looted during protests

What you should know

काठमाडौँ — जेन–जीको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेसन सञ्चालन गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रस्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारेसमेत समीक्षा भएको छ । उनले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताए । उनले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरुलाई कारागार फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताए । 

उनले भने, ‘हामीले यसअघिको बैठकमा निर्वाचनको तयारीसँग सम्बन्धित रणनीतिक  योजनाहरु प्रस्तुत गर्न एउटा कार्यदल बनाएका थियौं । आजको बैठकमा उसले गरेको कामको समीक्षा गर्यौं । निर्वाचनको लागि सोअनुरुप हामीले आफू मातहतको निकायहरुलाई परिचालित गर्नुपर्ने हुन्छ । कार्यदलले दिएका रणनीतिक योजनाहरु हामी प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउँछौं । प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै अब निर्वाचन हुन्छ । त्यसबारे निर्णय गरेका छौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता ल्याउनको लागि विशेष कार्यक्रम चलाउँछौं । आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई फिर्ता ल्याउनको  लागि पनि थप कार्यक्रमहरु ल्याउँछौं । निर्वाचनको वातावरण बनाउनको लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनको लागि सुरक्षा निकायहरुको जोइन्ट पेट्रोलिङ गर्ने कुराहरु पनि साथसाथै अगाडि बढाउँछौं ।’

उनले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरुले समाजमा रहेका अपराधीहरुलाई दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेसमेत बताए । 

न्युज

Link copied successfully