निवर्तमान अतिरिक्त स्वास्थ्य सचिव मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मिश्रासहित १५ जनाविरुद्ध करिब १४ करोड रुपैयाँ विगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Corruption case filed against 15 people including outgoing Additional Health Secretary Mishra

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ विगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले डा मिश्रासहित व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रकुमार चौरसिया र विभागका निर्देशक डा विवेकुमार लालविरुद्ध मुद्दा चलाएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार उक्त मुद्दामा तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर पद्मा मिश्र, विभागका केन्द्रीय स्टोर पथलैया बाराका जनस्वास्थ्य निरीक्षक सन्जयकुमार शाह र आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिका प्रमुख सुन्दर भुसाललाई पनि प्रतिवादी बनाइएको छ। 

उनीहरूविरुद्ध जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँका दरले विगो कायम गरिएको छ। उनीहरूमाथि स्वास्थ्य उपकरण खरिद लगायत प्रकरणमा अनियमितता गरेको आरोप लगाइएको छ। मिश्रा पछिल्लो पटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेको थियो। त्यहीकारण उनले अतिरिक्त सचिवबाट राजीनामा समेत दिइन्। तर भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको खुलेपछि अन्तिम समयमा मिश्राको नियुक्ति रोकिएको थियो।

उनले कोशी अस्पताल र प्रसूति अस्पताल थापाथलीको प्रमुख तथा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेकी थिइन्। उनी विभागको महानिर्देशक रहेकै बेला स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा अनुसन्धानमा तानिएकी थिइन्। 

कान्तिपुर संवाददाता

Link copied successfully