देशभर आन्दोलन चलिरहेका बेला कारागारबाट भागेका विश्वकर्मा लामो समय लुकी बसेपछि प्रहरीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको छ।
संखुवासभा — जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा खाँदबारी–८ का २७ वर्षीय विवेक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।
भदौ २३–२४ गते देशभर चलेको जन-जी आन्दोलनको बेला कारागारबाट फरार भएका विश्वकर्मा त्यसयता लुकीछिपी बस्दै आएको खुलेको थियो। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले आइतबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए।
उनका अनुसार विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालयबाट करिब डेढ किलोमिटर टाढाबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
डीएसपी मैनालीले फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको र कारागार प्रशासनसँग समन्वय गरी पुनः नख्खु कारागार पठाइने बताए। विश्वकर्मा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए।
