सरकारी क्याम्पसका डेढ सय रोपनी जग्गा हिनामिना

काठमाडौं, ललितपुर र भक्तपुरका ७ वटा सरकारी क्याम्पसको जग्गा हिनामिना भएको पाइएको छ ।

कार्तिक २, २०८२

सुदीप कैनी

150 ropanis of government campus land embezzled

What you should know

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकाका आंगिक (सरकारी) क्याम्पसका १ सय ४८ रोपनी १५ आना जग्गा हिनामिना भएको पाइएको छ ।

सरकारले गठन गरेको त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले उपत्यकाका २२ मध्ये १८ क्याम्पसको स्थलगत अवलोकन गरी जग्गाजमिनको खोजी गरेको थियो । जसमा ७ क्याम्पसका करिब डेढ सय रोपनी जग्गा अतिक्रमण भएको पाइएको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका आंगिक क्याम्पसका १ हजार २ सय ५३ रोपनी जग्गाजमिन रहेको समेत समितिले जनाएको छ ।

पूर्वसहसचिव महेन्द्रकुमार थापाले सरकारलाई बुझाएको प्रतिवेदनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको चिकित्सा र नर्सिङ क्याम्पसको ६९ रोपनी १४ आना जग्गा हिनामिना भएको औंल्याइएको छ । सरकारले भोगचलन गर्न दिएको टोखाको ६० रोपनी, बूढानीलकण्ठ हात्तीगौंडाको करिब ५ रोपनी र सिन्धुपाल्चोक चौताराको ४ रोपनी १४ अना जग्गा अन्य निकायले भोगचलन गरेको प्रतिवेदनमा उल्लेख छ । यस विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको छ ।

आईओएम मातहतको शिक्षण अस्पताल, मनमोहन कार्डियोभास्कुलर थोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला नेत्र अध्ययन केन्द्र, डिन कार्यालय, महाराजगन्ज नर्सिङ र चिकित्सा क्याम्पस जग्गाधनी पुर्जाबिनै सञ्चालन भइरहेको समितिले जनाएको छ । महाराजगन्जमा नेपाली सेनाको नाममा रहेको १ सय ६२ रोपनी जग्गा २०३९ सालमै प्रस्तावित शिक्षण अस्पताललाई दिने मन्त्रिपरिषद्ले निर्णय गरे पनि जग्गा हस्तान्तरण भए/नभएको यकिन नभएको जनाइएको छ । सरकारबाट उक्त जग्गाको स्वामित्व हस्तान्तरण हुने/नहुने विषयमा निर्णय लिन पनि समितिले सुझाव दिएको छ ।

जग्गा खोजबिन समितिले सानोठिमी क्याम्पसले ३० रोपनी जग्गा लिजमा दिएको विषयमा पनि प्रश्न उठाएको छ । क्याम्पसले ३० रोपनी जग्गा हालसालै बालीनाली लगाउन ठेक्कामा दिएको जनाए पनि अध्ययनका क्रममा वर्षौंदेखि भाडामा लगाइएको पाइएको समितिको ठहर छ । ‘सोधपुछका क्रममा वर्षौंदेखि भाडामा दिएको पाइए पनि क्याम्पस प्रशासनले हालसालै मात्रै भाडामा लगाएको देखाएकाले त्रिविबाट थप छानबिन गर्नुपर्छ । लिज तथा भाडासम्बन्धी कानुनबमोजिम भए, नभएको छानबिन गरिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । त्रिचन्द्र क्याम्पसको २३ रोपनी जग्गा हिनामिना भएको समितिले औंल्याएको छ । त्रिचन्द्र क्याम्पसको नाममा घण्टाघरमा ३७ रोपनी ४ आना, धादिङ बेनीघाटमा २ रोपनी १० आना, पाल्पा तिनाउमा २ रोपनी ८ आना जग्गा गरी ४२ रोपनी ७ आना जग्गा रहेको अभिलेख भेटिएको समितिले जनाएको छ । तर जग्गाको हालसाबिक गर्दा २३ रोपनी जग्गा फरक परेको विषय क्याम्पस प्रशासनबाट प्राप्त भएकाले खोजबिन अघि बढाउन सुझाव दिइएको छ । ‘घण्टाघरमा पनि जग्गा मिचिएको पाइयो । पाल्पामा रहेको जग्गाको कित्ता नम्बर फरक परी भवन निर्माणमा विवाद भएको देखियो । मलेखुको जमिनको अवस्था यकिन भएन,’ प्रतिवेदनमा उल्लेख छ । समितिले त्रिवि र क्याम्पसबाट ती जग्गाको खोजी कार्य अघि बढाउन सुझाएको छ ।

विश्वविद्यालयको जग्गा खोजबिनका क्रममा समितिले मीनभवन क्याम्पसको २१ रोपनी ११ आना जग्गा ललिपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पससँगै अलपत्र अवस्थामा फेला पारेको छ । मालपोत कार्यालय लगनखेलले क्याम्पसको जग्गा रहेको स्रेस्ता उपलब्ध गराएकाले कार्यालयसँग सम्पर्क गरी जग्गाधनी पुर्जा नियमानुसार लिन क्याम्पसलाई सुझाव दिएको छ । उक्त जग्गामा क्याम्पसको भौतिक रूपमा उपस्थिति जनाउन नापी कार्यालयबाट प्राविधिक नापजाँच गरी तारबार लगाएर आफ्नो अधीनमा लिने कार्य तत्काल गर्न सिफारिस गरेको छ । मीनभवनमा क्याम्पसले २०७८ कात्तिकदेखि २० वटा सटर प्रतिसटर ६ हजार ७ सय ५० रुपैयाँमा भाडामा लगाए पनि भाडा नदिएकाले असुली गर्नेतर्फ कारबाही चलाउन समितिले सुझाव दिएको छ । ‘हालसम्म भाडा नउठी क्याम्पसलाई आर्थिक हानि नोक्सानी भएको विषय को ेकसको लापरबाहीको कारणबाट भएको हो यकिन गर्न सम्बन्धित निकायबाट छानबिन एवं अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

पब्लिक युथ क्याम्पस धौबीचौरको २ रोपनी जग्गा हिनामिना भएको समितिले औंल्याएको छ । क्याम्पसको गुरुयोजनामा १० रोपनी ७ आना जग्गा देखिए पनि जग्गाधनी पुर्जामा ८ रोपनी ४ आना जग्गा मात्रै देखिएको हो । ‘क्याम्पसको पूर्वतर्फको सिमाना स्पष्ट छैन । दक्षिण पश्चिम सिमानामा रहेको जग्गामा ५ वटा घरले विगतदेखि नै न्यूनतम कुत क्याम्पसलाई तिरी बसोबास गर्दै आएको पाइयो । पश्चिमतर्फको सडकपारि क्याम्पसको स्वामित्वमा रहेको जग्गामा ग्यारेज सञ्चालनमा रहेको पाइयो । चार किल्ला सिमाना खुल्ने गरी जग्गा खोजबिन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जग्गाधनी पुर्जा र क्याम्पसले प्रयोग गर्दै आएको जग्गामा फरक पाइयो । पुनः नापजाँच गरी क्याम्पसको जग्गाको क्षेत्रफल र चार किल्ला स्पष्ट गर्नुपर्छ ।’ पाटन र अमृत क्याम्पस (अस्कल) लैनचौरको कम्तीमा १/१ रोपनी जग्गा हिनामिना भएको पनि समितिले जनाएको छ । प्रतिवेदनअनुसार अमृत क्याम्पसको सुरुको नापीमा ७ रोपनी ४ आना जग्गा उल्लेख भए पनि २०५६ पुस ८ गते प्राप्त पुर्जामा ६ रोपनी ४ आना मात्रै उल्लेख छ । यस विषयमा क्याम्पस प्रशासनले खोजबिन गरी यकिन गर्नुपर्ने सुझाव दिएको छ । ‘क्याम्पसको लैनचौरमा कित्ता नम्बर ३४८ मा ६ रोपनी ४ आना र कित्ता नम्बर ३०३ मा १२ रोपनी २ आना गरी १८ रोपनी ६ आना जग्गा रहेको देखियो । जसमध्ये कित्ता नम्बर ३४८ को जग्गा कमी रहेको भेटियो,’ प्रतिवेदनमा भनिएको छ ।

पाटन संयुक्त क्याम्पसलाई पुल्चोकस्थित रानी जगदम्बाबाट प्राप्त १ रोपनी ६ आना जग्गा हिनामिना भएको समितिले जनाएको छ । रानी जगदम्बाबाट १० रोपनी ९ आनासहित थप १ रोपनी ६ आना जग्गा प्राप्त भएको देखिए पनि जग्गाधनी पुर्जामा उल्लेखित १ रोपनी ६ आना जग्गाको अवस्था अज्ञात रहेको प्रतिवेदनमा औंल्याइएको छ । उक्त जग्गा कहाँ, कसले उपभोग गरेको छ खोजबिन गरी यकिन गर्नुपर्ने सुझाव दिइएको छ । २०२६ सालमा सरकारबाट अधिग्रहण भएको ४६ रोपनी ६ आना जग्गामध्ये २९ रोपनी ४ आना जग्गाको जग्गाधनी प्रमाणपत्र क्याम्पसले लिन बाँकी रहेको समितिले जनाएको छ । २०५७ सालमा मालपोत कार्यालयमा निवेदन दिए पनि उक्त विषय अझै टुंगो नलागेको समितिको भनाइ छ । पाटन क्याम्पसले विशाल बजार मल्टिकम्प्लेक्सलााई लिजमा दिएको जग्गाको विषयमा अनियमितता देखिएको औंल्याउँदै थप छानबिन गर्न त्रिविलाई सिफारिस गरेको छ ।

ooo

राजधानीका सरकारी क्याम्पस हिनामिना भएको जग्गा

आईओएम (महाराजगन्ज) ६९ रोपनी १४ आना

सानोठिमी क्याम्पस ३० रोपनी

त्रिचन्द्र क्याम्पस २३ रोपनी

मीनभवन क्याम्पस २१ रोपनी ११ आना

पब्लिक युथ क्याम्पस २ रोपनी

पाटन संयुक्त क्याम्पस १ रोपनी ६ आना

अस्कल क्याम्पस १ रोपनी

जम्मा १ सय ४८ रोपनी १५ आना

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully