चारवटै सुरक्षा निकायका प्रमुखसँग शीतल निवासमा निर्वाचनकेन्द्रित छलफल

शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा गहन छलफल भएको छ ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

Election-focused discussions with the heads of all four security agencies at Sheetal Niwas

What you should know

काठमाडौँ — सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सम्पूर्ण गतिविधि केन्द्रित गरेको जनाएको छ । शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा गहन छलफल भएको छ । छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सुदृढ पार्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ ।

आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त बैठक बोलाएका हुन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् । 

उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ । गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका हुन् । यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव रहेका छन् ।

यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

कान्तिपुर

Link copied successfully