चामलकाे पिठाेबाट बनाइने झिनियाँ प्राकृतिक रुपमा घाममा सुकाएर तेलमा फुराउनका लागि तयार गरिन्छ ।
What you should know
गुल्मी — नेवार समुदायमा मात्रै सीमित तिहारको परिकार झिनियाँ वा झिलिङ्गा रोटी पछिल्लाे समय अन्य समुदायका भान्सामा पनि पाक्न थालेको छ । मुख्यतयाः दसैंतिहारमा बिक्री हुने झिनियाँ रोटी अहिले प्रायः सबै चाडपर्वमा पाहुनाको पाहुर बन्न थालेको छ ।
रेसुंगा नगरपालिका–८ भगवती मन्दिरकी यमकुमारी श्रेष्ठले तम्घासमा २०५९ मा व्यावसायिक तरिकाले झिनियाँ रोटी भित्र्याएकी थिइन् । त्यसअघि यहाँका केही घरमा मात्रै तयार गरिने झिनियाँ उनले व्यापारिक रुपमा बजारमा ल्याएकी थिइन् । कम लगानीमा सुरु गर्न सकिने झिनियाँ रोटीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।
चामलकाे पिठाेबाट बनाइने झिनियाँ प्राकृतिक रुपमा घाममा सुकाएर तेलमा फुराउनका लागि तयार गरिन्छ । मुख्यगरी बैशाख, जेठ, भदौ, असोज र कात्तिक महिनामा झिनियाँ तयार राम्रो सिजन हुने यमकुमारी बताउँछिन् । आकाश खुला हुँदा तयार गर्न सकिने झिनियाँ यसवर्ष १ हजार ३ सय दर्जन बढी तयार गरेको यमकुमारीले बताइन् । झिनियाँ बिभिन्न रंगमा बनाइन्छ ।
उनलाई झिनियाँ तयार गर्न श्रीमान् रुपेश श्रेष्ठसहित छोराछोरीले समेत सघाइरहेका हुन्छन् । पहिले तिहारमा मात्रै सीमित हुने झिनियाँ रोटी अहिले सबै चाडपर्वमा बिक्री हुने गरेको यमकुमारीले बताइन् । ‘अहिले वर्षभर सबै चाडपर्वमा थोरैधेरै माग भएकै हुन्छ,’ उनले भनिन्, ‘तिहारमा सीमित झिनियाँ अहिले पाहुनाको पाहुर बनिरहेको छ ।’
अघिपघि पनि खाजाका रुपमा झिनियाँ प्रयोग गर्न थलिएको उनले बताइन् । वार्षिक दुई लाख रुपैयाँ आम्दानी गर्ने उनले जम्मा ५० प्रतिशत मात्रै लगानी हुने गरेको बताइन् । झिनियाँ तयार गर्न धेरै मेहनत हुने गरेको उनको भनाइ छ । हालसम्म हाते मेसिन झिनियाँ बनाउन साँचो आफैं चलाएर तयार गर्नुपर्ने र घामकै भरमा सुकाएर तयार गर्नुपर्ने हुँदा प्रक्रिया झन्झिटलो भएको उनले बताएकी छिन् ।
उनले तयार गरेको झिनियाँ रोटी तम्घाससहित गुल्मीकै वीरवास, बलिथुम र अर्घाखाँचीका विभिन्न ठाउँमा पुग्ने गरेको छ । झिनियाँ प्रतिदर्जन होलसेलमा आकार अनुसार १ सय रुपैयाँदेखि १ सय ४० सम्म पर्ने गरेको उनले बताइन् ।
उत्पादन भन्दा दोब्बर माग भइरहेकोले झिनियाँ तयार गर्नेहरुले बताउँछन् । मौसमका कारणले उत्पादन कम भएकाले बजारमा माग दोब्बर रहेको यमकुमारीले बताइन् । ‘गुजारा चलाउने केही माध्यम नभएर झिनियाँ बनाए भइहाल्छ,’ उनले भनिन्, ‘झिनियाँ तयार गर्ने हो भने यसबाट राम्रै आम्दानी हुन्छ । बजारकाे समस्या छैन ।’ झिनियाँ रोटी बनाउन परिश्रम बढी लाग्ने गरे पनि लगानी भने सामान्य हुने गरेको उनले सुनाइन् ।
रेसुंगा नगरपालिका–२ पुतलीबजारकी समिक्षा श्रेष्ठले यसवर्ष चार लाख रुपैयाँ बराबरका झिनियाँ बजार पुर्याउन तयार गरेकी छिन् । उनले फागुन र चैत अनि तिहारमा तयार गरेका झिनियाँ अहिले बिक्रीका लागि भ्याईनभ्याइ छ । डेढ लाख रुपैयाँको लगानी हुने गरेको र जसमा तीन जना खट्ने गरेको समिक्षाले बताइन् ।
समिक्षाले पनि बुटवलसम्म पठाउने गरेको र छिमेकी जिल्ला अर्घाखाँचीसहित गुल्मी तम्घास आसफासमा बिक्री हुने गरेको बताइन् । तिहारमा बढी बेचिने भए पनि अघिपछिका चाडपर्वमा पनि निकै बजार पाउने गरेको उनले बताइन् ।
दसैंतिहारमा मात्रै उपयाेग गरिने झिनियाँ पछिल्लो समय सानातिना चाडपर्वमा पनि पाहुनाले पाहुरका रुपमा लैजाने गरेको रेसुंगा नगरपालिका–८ का व्यवसायी रुपेश श्रेष्ठले बताए । ‘पहिले नेवार समुदाय र तिहारमा मात्रै सीमित थियो,’ उनले भने, ‘पछिल्लो समय सबै चाडपर्वमा यसको माग बढेको छ ।’
उनले अहिलेसम्म आउँदा पनि झिनियाँ रोटी बनाउने तरिका भने आधुनिक बन्न नसकेको बताए । परम्परागत र प्राकृतिक रुपमै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताउँछन् । अत्याधिुनिक मेसिन तयार गरेर झिनियाँलाई ठूलो माक्रामा बजारमा सस्तो मूल्यदरमा बित्री गर्न सकिने उनको भनाइ छ ।
नेवारी भाषामा झिनियाँ रोटीलाई कसिनकमारी भनिन्छ । गुल्मीको तम्घास, वामीटक्सार, बलेटक्सार, मजुवा, शान्पिुर, खर्ज्याङ, मानकोट र रिडीलगायतका ठाउँमा व्यवसायिक रुपमा झिनियाँ तयार गरेर बिक्री गरिन्छ ।
यसरी बनाइन्छ झिनियाँ
सुरूमा चामललाई पिसेर पिठो बनाउने । पिठोलाई पानीमा पकाउने । पिठो पकाउने समयमा कुन रङको बनाउने हो, त्यही रङ प्रयोग गर्ने । पिठो पाकेर ठोस बन्छ । त्यसलाई सानोसानो दानाको रूपमा तयार पार्ने । हाते मेसिनमा तयार भएको दाना राख्ने । त्यसपछि मेसिनलाई एउटा हातले चलाउने अर्को हातले मेसिन तल कुनै भाँडो थाप्ने ।
झिनियाँलाई आकार दिन भाँडोलाई बिस्तारै घुमाउने । तयार भएको झिनियाँलाई अर्को भाँडोमा राख्ने र कम्तीमा ३ घण्टा घाममा सुकाएपछि झिनियाँ तयार हुन्छ । झिनियाँलाई तेलमा फुराउने ।
