भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास दिलाउन राष्ट्रपतिको निर्देशन 

अन्तरिम सरकार र सुरक्षासम्बन्धी प्रमुखहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले निष्पक्ष, भयरहित निर्वाचन सुनिश्चित गर्न बलियो कदम चाल्न आग्रह गर्नुभयो।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

President's directive to ensure free, fair and impartial elections in a fear-free environment

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास राजनीतिक दल र आम नागरिकमा जगाउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन्।

उनले शान्ति–सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रूपमा प्रस्तुत हुन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र फरार कैदीबन्दीहरूलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे। अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताइन्। उनले पूर्ण तयारीका साथ लाग्न र सुरक्षा निकायलाई आवश्यक सम्पूर्ण साधन–स्रोत उपलब्ध गराइने जानकारी दिइन्।

सुरक्षा निकायका प्रमुखहरूले शान्ति–सुरक्षा कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको राष्ट्रपति पौडेललाई विश्वास दिलाए। उनीहरूले विगतमा अझ कठिन परिस्थितिमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै, यस पटक पनि सुरक्षा निकाय पूर्ण रूपमा तयार रहेको बताए।

छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की, अर्थमन्त्री बाहेक सबै मन्त्रीहरूका साथै प्रधानसेनापति अशोक सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।

कान्तिपुर संवाददाता

Link copied successfully