बिजुली पासोको प्रयोगबाट चियाका पात सधैं खाइदिने किरा, विशेषगरी पुतली र त्यस वर्गका अन्य किरा नियन्त्रणमा आउन थालेका छन् ।
What you should know
झापा — चिया बगानमा किराको संक्रमण बढ्दै गएको छ । किरा नियन्त्रणका लागि अधिकांश बगानमा रासायनिक विषादी प्रयोग गरिँदै आएको छ । केही बगानहरुले विषादीको साटो किरा मार्ने नयाँ जुक्ति प्रयोग गरेका छन् ।
मेचीनगरको कालिका टी स्टेट, हल्दिवारी टी स्टेटलगायतका बगानले चिया खाने किरा मार्न ‘बिजुली पासो’ प्रयोग गरेका छन् । कालिका टी इस्टेटले बगानभर करिब १५० स्थानमा यस्तो पासो जडान गरेको छ ।
साँझ परेपछि चिया खान आउने किरालाई लक्षित गर्दै रातभर पासो थापिन्छ । एउटा भाडामा पानी राखिन्छ, जसमा थोरै विषादी मिसाइन्छ । पानीमाथि दुईवटा बिजुलीका चिम बालिन्छन् । नजिकको बिजुली पोलबाट सोझै जडान गरेका चिम रातभरी बलिरहन्छन् । त्यही उज्यालो देखेर ओइरिने किरा पानीतर्फ आकर्षित हुन्छन् र विषादी मिश्रित पानीमा डुबेर मर्छन् ।
कालिका टी स्टेटका म्यानेजर शिलाकान्त चौधरीका अनुसार, परीक्षणका रूपमा सुरु गरिएको यो उपाय निकै प्रभावकारी देखिएको छ । उनी भन्छन्,‘किराको उपद्रो घटेसँगै रोगमा पनि कमी आएको छ, जसले चियाको उत्पादनमा सुधार ल्याएको छ ।’
बिजुली पासोको प्रयोगबाट चियाका पात सधैं खाइदिने किरा, विशेषगरी पुतली र त्यस वर्गका अन्य किरा नियन्त्रणमा आउन थालेका छन् । कालिकामै कार्यरत श्रमिक सन्तोष पाहानका अनुसार पहिले रातिको समयमा पात खान किरा निकै सक्रिय हुन्थे । अहिले बगानभर रातभरि उज्यालो बालिन्छ, किरा त्यही उज्यालोमा फस्छन् र पासोमा परेर मर्छन् ।
उनका अनुसार रातभरि विषादी मिश्रित पानीमा डुवेर मरेका किरा बगानका चौकीदारले बिहान नष्ट गर्छन् । अनि पुनः अर्को रातका लागि पासो तयार पार्छन् । हल्दीबारीका चिया किसान गोपाल गिरी भन्छन्, ‘रातभरि बत्ती बालेर किरा नियन्त्रण गर्न थालेपछि बोट बिरुवामा रोग देखिने क्रम कम भएको छ ।’
झापालगायतका चिया उत्पादन क्षेत्रमा किराका कारण लुपरजस्ता रोग लाग्ने समस्या बढेको छ । यस्तो रोगले चियाको उत्पादनमा प्रतिकूल असर पार्ने गर्छ । किसानहरू अब परम्परागत विषादीको सट्टा वैकल्पिक प्रविधि अपनाउन थालेका हुन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड झापाका प्रमुख इन्द्र अधिकारीका अनुसार चिया बगानमा किराको समस्या दिनानुदिन बढ्दै गएको छ । किरा मार्न विषादीको प्रयोग बढेसँगै वातावरण र उत्पादनमा समस्या देखिएको छ । जसका कारण किसान नयाँ र वैकल्पिक विधि खोज्न थालेका हुन् ।
‘चिया खेतीमा विषादीको सट्टा वातावरणमैत्री र दीगो समाधानतर्फ किसानको यो अग्रसरता स्वागतयोग्य छ’, अधिकारीले भने,‘सबैतिर यो प्रविधि अपनाउन सक्दा चियामा विषादीको प्रयोग घट्नुको साथै गुणस्तरमा समेत वृद्धि हुने थियो ।’
‘टी मस्किटो’ नामको किरा सुक्खा र ओसिलो मौसम दुवैमा सक्रिय हुन्छ । यसले चियाको नयाँ फालुवामाथि आक्रमण गर्छ । जसले विस्तारै चियामा रोग बढ्दै जान्छ । विज्ञहरुका अनुसार संत्रमणपछि चिया सुक्ने, सुकेको भाग फुट्ने जस्ता लक्षण देखा पर्छ । उत्पादनमा भारी गिरावट आउन सक्छ ।
चियामा संक्रमण फैलाउने अर्को किरा हो, रेड स्पाइडर । यसले पातको माथिल्लो सतहमा रगत झैं झुर्रोदार र खैरो दाग पार्छ । पातहरू पातलो हुँदै जान्छ । जसले चियाको प्रकाश संश्लेषणमा अवरोध हुन्छ । गर्मी र सुख्खा मौसममा यसको प्रकोप ज्यान हुन्छ ।
लुपर क्याटरपिलर, चियालाई अत्याधिक क्षति गर्ने अर्को किरा हो । झापामा यो दशकपछि प्रकोपकै रुपमा देखिएको छ । यसले चियाका कलिला मुना खान्छ । बिस्तारै पातै नाङ्गो बनाएर छाडिदिन्छ । विषादी निरीक्षण प्रयोगशाला सुनसरी झुम्पाको एक टोलीले हालै झापाका चिया बगानको अनुगमन गर्दै विषादीको प्रयोग अत्याधिक भएको र त्यसलाई घटाउन सुझाएको थियो ।
‘किसानहरुले अन्धाधुन्ध विषादीको प्रयोग गर्दा लुपर अझै आक्रामक भएर आएको हो’, चिया तथा कफी विकास बोर्डका प्रमुख अधिकारीले भने,‘यसले भविष्यमा अझै वढी क्षति गर्न सक्ने अवस्था देखिन्छ ।’
