चिया खाने किरालाई ‘बिजुली पासो’

बिजुली पासोको प्रयोगबाट चियाका पात सधैं खाइदिने किरा, विशेषगरी पुतली र त्यस वर्गका अन्य किरा नियन्त्रणमा आउन थालेका छन् ।

कार्तिक १, २०८२

पर्वत पोर्तेल

'Electric trap' for tea-eating insects

What you should know

झापा — चिया बगानमा किराको संक्रमण बढ्दै गएको छ । किरा नियन्त्रणका लागि अधिकांश बगानमा रासायनिक विषादी प्रयोग गरिँदै आएको छ । केही बगानहरुले विषादीको साटो किरा मार्ने नयाँ जुक्ति प्रयोग गरेका छन् ।

मेचीनगरको कालिका टी स्टेट, हल्दिवारी टी स्टेटलगायतका बगानले चिया खाने किरा मार्न ‘बिजुली पासो’ प्रयोग गरेका छन् । कालिका टी इस्टेटले बगानभर करिब १५० स्थानमा यस्तो पासो जडान गरेको छ ।

साँझ परेपछि चिया खान आउने किरालाई लक्षित गर्दै रातभर पासो थापिन्छ । एउटा भाडामा पानी राखिन्छ, जसमा थोरै विषादी मिसाइन्छ । पानीमाथि दुईवटा बिजुलीका चिम बालिन्छन् । नजिकको बिजुली पोलबाट सोझै जडान गरेका चिम रातभरी बलिरहन्छन् । त्यही उज्यालो देखेर ओइरिने किरा पानीतर्फ आकर्षित हुन्छन् र विषादी मिश्रित पानीमा डुबेर मर्छन् ।

कालिका टी स्टेटका म्यानेजर शिलाकान्त चौधरीका अनुसार, परीक्षणका रूपमा सुरु गरिएको यो उपाय निकै प्रभावकारी देखिएको छ । उनी भन्छन्,‘किराको उपद्रो घटेसँगै रोगमा पनि कमी आएको छ, जसले चियाको उत्पादनमा सुधार ल्याएको छ ।’

बिजुली पासोको प्रयोगबाट चियाका पात सधैं खाइदिने किरा, विशेषगरी पुतली र त्यस वर्गका अन्य किरा नियन्त्रणमा आउन थालेका छन् । कालिकामै कार्यरत श्रमिक सन्तोष पाहानका अनुसार पहिले रातिको समयमा पात खान किरा निकै सक्रिय हुन्थे । अहिले बगानभर रातभरि उज्यालो बालिन्छ, किरा त्यही उज्यालोमा फस्छन् र पासोमा परेर मर्छन् ।

उनका अनुसार रातभरि विषादी मिश्रित पानीमा डुवेर मरेका किरा बगानका चौकीदारले बिहान नष्ट गर्छन् । अनि पुनः अर्को रातका लागि पासो तयार पार्छन् । हल्दीबारीका चिया किसान गोपाल गिरी भन्छन्, ‘रातभरि बत्ती बालेर किरा नियन्त्रण गर्न थालेपछि बोट बिरुवामा रोग देखिने क्रम कम भएको छ ।’

झापालगायतका चिया उत्पादन क्षेत्रमा किराका कारण लुपरजस्ता रोग लाग्ने समस्या बढेको छ । यस्तो रोगले चियाको उत्पादनमा प्रतिकूल असर पार्ने गर्छ । किसानहरू अब परम्परागत विषादीको सट्टा वैकल्पिक प्रविधि अपनाउन थालेका हुन् ।

'Electric trap' for tea-eating insects

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड झापाका प्रमुख इन्द्र अधिकारीका अनुसार चिया बगानमा किराको समस्या दिनानुदिन बढ्दै गएको छ । किरा मार्न विषादीको प्रयोग बढेसँगै वातावरण र उत्पादनमा समस्या देखिएको छ । जसका कारण किसान नयाँ र वैकल्पिक विधि खोज्न थालेका हुन् ।

‘चिया खेतीमा विषादीको सट्टा वातावरणमैत्री र दीगो समाधानतर्फ किसानको यो अग्रसरता स्वागतयोग्य छ’, अधिकारीले भने,‘सबैतिर यो प्रविधि अपनाउन सक्दा चियामा विषादीको प्रयोग घट्नुको साथै गुणस्तरमा समेत वृद्धि हुने थियो ।’

‘टी मस्किटो’ नामको किरा सुक्खा र ओसिलो मौसम दुवैमा सक्रिय हुन्छ । यसले चियाको नयाँ फालुवामाथि आक्रमण गर्छ । जसले विस्तारै चियामा रोग बढ्दै जान्छ । विज्ञहरुका अनुसार संत्रमणपछि चिया सुक्ने, सुकेको भाग फुट्ने जस्ता लक्षण देखा पर्छ । उत्पादनमा भारी गिरावट आउन सक्छ ।

चियामा संक्रमण फैलाउने अर्को किरा हो, रेड स्पाइडर । यसले पातको माथिल्लो सतहमा रगत झैं झुर्रोदार र खैरो दाग पार्छ । पातहरू पातलो हुँदै जान्छ । जसले चियाको प्रकाश संश्लेषणमा अवरोध हुन्छ । गर्मी र सुख्खा मौसममा यसको प्रकोप ज्यान हुन्छ ।

लुपर क्याटरपिलर, चियालाई अत्याधिक क्षति गर्ने अर्को किरा हो । झापामा यो दशकपछि प्रकोपकै रुपमा देखिएको छ । यसले चियाका कलिला मुना खान्छ । बिस्तारै पातै नाङ्गो बनाएर छाडिदिन्छ । विषादी निरीक्षण प्रयोगशाला सुनसरी झुम्पाको एक टोलीले हालै झापाका चिया बगानको अनुगमन गर्दै विषादीको प्रयोग अत्याधिक भएको र त्यसलाई घटाउन सुझाएको थियो ।

‘किसानहरुले अन्धाधुन्ध विषादीको प्रयोग गर्दा लुपर अझै आक्रामक भएर आएको हो’, चिया तथा कफी विकास बोर्डका प्रमुख अधिकारीले भने,‘यसले भविष्यमा अझै वढी क्षति गर्न सक्ने अवस्था देखिन्छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully