एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउने क्रममा यस्तो बताएका हुन् ।
काठमाडौँ — एमालेले सरकारले मिडिया ट्रायल गर्दै दलहरुको चरित्र हत्या गर्ने काम गरिरहेको आरोप लगाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै निर्वाचनको कार्यादेश पाएको सरकार निर्वाचनको वातावरण बनाउनेतिर नभएर दलहरुसँग सम्पर्क र संवाद नगरी निषेधको बाटोमा हिँडेको बताए ।
स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई रोक्ने र मिडिया ट्रायल गर्ने काम सरकारले गरिरहेको बताउँदै उनले सन्देहपूर्ण पात्रहरुले धम्की दिने काम पनि भइरहेको बताए ।
गौतमले यतिबेला हिंसा र अपराधमा लाग्नेलाई पूर्णरुपमा छुट दिने काम सरकारले गरेको आरोप पनि लगाए । उनले यस्तो अवस्थामा निर्वाचनमा जाने कुनै आधार नदेखिएको निष्कर्ष पार्टीले निकालेको बताएका छन् ।
गौतमले एमाले केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै संसद् पुन:स्थापनाको पक्षमा जनमत बनाउन अघि बढने बताउँदै यसलाई अभियानकै रुपमा अघि बढाउने बताएका छन् । उनले एमाले निर्वाचनभन्दा टाढा नभएको बताउँदै सरकारले निर्वाचनको वातावरण भने नबनाएको बताए ।
उनले केन्द्रीय कमिटी बैठकले २२ वटा प्रस्ताव पारित गरेको बताए । उनले निर्वाचन आयोगमा आफूहरुले सात वटा सुझाव दिएको बनाउँदै सरकारले निर्वाचनको वातावरण नबनाएको र पार्टीहरुसँग संवाद नगरेको दोहोर्याए ।
