सरकार बनेपछि पहिलो पटक काठमाडौंस्थित विदेशी कूटनीतिज्ञहरुलाई ब्रिफिङ
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबाट शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले निर्वाचित सरकारलाई सत्ता हस्तानान्तरण गर्ने आफ्नो सरकारको प्रमुख दायित्व रहेको बताएकी छन् ।
२३ र २४ भदौको जेन-जी आन्दोलनपछि गठन भएको सरकारका प्रमुख कार्कीले शुक्रबार पहिलो पटक काठमाडौंस्थित विदेशी कूटनीतिज्ञहरुलाई ब्रिफिङ गर्दै स्वतन्त्र र निष्पक्ष आमचुनाव सम्पन्न गराउने आफ्नो सरकारको दायित्व रहेको बताएकी हुन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि आफैसँग राखेकी उनले कूटनीतिज्ञहरुलाई सरकार चुनावको तयारीमा जुटेको जानकारी दिइन् ।
२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । उनले सरकारको सम्पूर्ण ध्यान र स्रोत साधान निर्वाचनमा केन्द्रित रहेको बताएकी छन् । उनले जेन-जी पुस्ताको बलमा भएको राजनीतिक परिवर्तनको चर्चा गरेकी थिइन् । जेन-जी आन्दोलनले सुशासन, आर्थिक अवसर र निष्ठाको आकांक्षालाई प्रतिबिम्ब गरेको उनको भनाइ थियो । सरकारले भ्रष्टाचार र कुशासनमा सुधार गर्दै जनताको विश्वास आर्जन, संस्थाहरुलाई बलियो बनाउने र शासनलाई अझ बढी पारदर्शी बनाएर राम्रो सार्वजनिक सेवा प्रदान गर्ने प्रयास गरिरहेको उनले बताएकी छन् । ‘आन्दोलन पारर्दिशता र जवाफदेहिताको मागबाट संचालित थियो । आन्दोलनले धेरैलाई अचम्मित पार्यो,’ उनले भनिन्, ‘अनिश्चित समयमा मलाई नेतृत्वका लागि आह्वान गरियो, यो मैले खोजेको पद थिएन । तर मेरो देशप्रतिको कर्तव्यको गहिरो भावनाका साथ स्वीकार गरेको जिम्मेवारी हो ।’ उनले आफ्नो नेतृत्वको गैरराजनीतिक संक्रमणकालीन सरकारको सम्झौता गर्न नसकिने एउटै मात्र जनादेश भनेको ५ मार्च २०२६ मा प्रतिनिधिसभा चुनाव सम्पन्न गराउनु रहेको उनले भनेकी छन् ।
बहुदलीय लोकतन्त्र नेपालको राजनीतिक प्रणालीको आधारशिला रहेको उनले बताइन् । विश्वसनीय निर्वाचनका लागि सुरक्षा, कानुनी ढाँचा र बन्दोबस्ती सबै कार्यमा सरकार जुटेको उनले उल्लेख गरिन् । उनले निर्वाचन आयोगलाई सशक्त बनाइने, सुरक्षा सुधार गरिने तथा जेन-जी प्रतिनिधिहरुसहित सबै राजनीतिक दलहरुसँग संवाद गरिने बताएकी छन् ।
विदेशमा अस्थायी बसोबास गर्ने नेपाली नागरिकका लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई क्रमिक रुपमा साकार पार्न बाह्य मतदान प्रणालीको सम्भावना पनि सरकारले खोजिरहेको उनले जानकारी दिइन् । नेपालको अवस्था विस्तारै सामान्य अवस्थामा फर्कंदै गरेको पनि उनले बताइन् ।
