जिल्ला प्रशासन कार्यालय भक्तपुर निरीक्षण गर्न आइपुगेका गृहमन्त्री अर्यालले संचारकर्मीहरुसँग कुरा गर्दै उनीहरु सिंगो देशको राजनीति भत्काउन समेत लागेको आरोप लगाए ।
भक्तपुर — गृहमन्त्री ओमप्रकाश अर्यालले 'अपदस्त भएकाहरु' देशमा शान्ति र सद्भाव भत्काउन लागीपरेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुर निरीक्षण गर्न आइपुगेका गृहमन्त्री अर्यालले संचारकर्मीहरुसँग कुरा गर्दै उनीहरु सिंगो देशको राजनीति भत्काउन समेत लागेको आरोप लगाए । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले भने, 'अपदस्त भएकाको कुकर्मबाट देशमा विद्रोह भयो । तिनीहरु यो ठाँउबाट नकराउन, देशको राजनीति धुमिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहेको छु ।'
फागुन २१ का लागि तोकिएको निर्वाचन समयमै गर्न नदिन केही तत्व लागीपरेको भन्दै गृहमन्त्री अर्यालले निर्वाचन गर्ने वातावरण बनाउन सरोकारवालाहरुलाई संवादमा आउनुपर्ने बताए । समयमै निर्वाचन गर्न दलहरुले साथ र सहयोग गर्नुपर्ने भन्दै त्यसका लागि सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।
सरकार निष्पक्ष निर्वाचन गर्नकै लागि बनेको उनको दाबी थियो । उनले गत भदौ तेस्रो साताको आन्दोलनका क्रममा जलेका सावारी साधन, लुटिएका हातहतियार तथा सामग्री प्रहरीलाई उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको जनाए ।
गृहमन्त्री अर्यालले आगलागीबाट क्षतिग्रस्त संरचना, जिल्ला प्रशासन कार्यालयका कक्षहरुको अवलोकन तथा जानकारी लिएका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बताए ।
भदौ २३ र २४ को आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालयको नगरिकता फाँट र मुद्दा फाँटमा आगलागी भएको थियो । प्रशासनमा रहेका केही सरकारी र निजी सवारी साधनसमेत जलेका थिए ।
