उपभोक्ता समितिबाट ठेक्का लगाउँदा २८ प्रतिशत घुस, प्रदेश सांसदसहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपालबाट महोत्तरी–४ (२)बाट निर्वाचित सिंहसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

28 percent bribery in awarding contracts through consumer committees, corruption case against 16 including provincial MP

What you should know

काठमाडौँ — प्रदेश संसदीय विकास कोषअन्तर्गत विनियोजित बजेटमा मिलेमतोमा उपभोक्ता समितिबाट खर्च देखाएर घुस खाएको अभियोगमा मधेस प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपालबाट महोत्तरी–४ (२)बाट निर्वाचित सिंहसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार प्रतिवादीविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । प्रतिवादी बनाइएका सिंह मधेसका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन् । 

आव २०७८/७९ को प्रदेश संसद् विकास कोषअन्तर्गत विनियोजितमध्ये १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँको योजना तय गरी उपभोक्ता समितिमार्फत महोत्तरीको रामगोपालपुर गाउँपालिका, मनराशीसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजना सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि ८ वटा उपभोक्ता समितिमार्फत उक्त बजेट खर्च हुने गरी मिलेमतोमै योजना तय गरिएको थियो । त्यसकै लागि देवी महरानी सौन्दर्यकरण उपभोक्ता समिति मनराशीसवा–२, कट्टी, रधवा पिपल गुरुकुल एकेडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी–२ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउण्डवाल निर्माण उपभोक्ता समिति, मनराशीसवा–७, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर कञ्चनपुर, माइस्थान मन्दिर सौदर्यकरण निर्माण उपभोक्ता समिति, रामगेपालपुर–५, कञ्चनपुर, रामगाोलपुर-८ कै माइस्थान मन्दिरलगायत ८ वटा उपभोक्ता समितिले सौदर्यकरण, सडक निर्माण र पुननिर्माणलगायत काम गर्न सिंहकै योजनामा उपभोक्ता समिति बनाइएका थिए । यसका लागि विभिन्न उपभोक्ता समितिको नाममा लक्ष्मी सनराइज बैंकमार्फत विनियोजित बजेटमध्ये करिब २८ प्रतिशत हुन आउने ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ रकम सिंह र उनकी पत्नी सरिताकुमारी महतो सिंहका नाममा सोही बैंकमा रहेको खातामा जम्मा भएको खुलेपछि उनी अनुसन्धानमा तानिएका थिए । पछि अनुसन्धानका क्रममा यो रकम सांसद सिंहले विभिन्न उपभोक्ता समितिबाट एकमुष्ट घुसबापत बुझेको तथ्य अनुसन्धानबाट खुलेको थियो ।

अख्तियारका अनुसार सोही प्रकरणमा सिंहसहित उपभोक्ता समिति अध्यक्ष र कोषाध्यक्षसहित १६ विरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार सांसद सिंहविरुद्ध घुसबापत जम्मा भएको रकम नै बिगो कायम गरी मुद्दा दायर गरिएको छ । धर्मसिला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष काशिल्यादेवीविरुद्ध १ लाख ८५ हजार २ सय ६० रुपैयाँ बिगो कायम गरिएको छ । 

धर्मशाला, रामनारायणको घरदेखि रामवृक्ष गाछीसम्म निर्माण उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीविरुद्ध ६ लाख ५७ हजार ७ सय, अधुरो कमलामाई मन्दिर र मालतमाइस्थानको कम्पाउण्डवाल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृतिदेवीविरुद्ध २ लाख १४ हजार ३ सय ५०, माइस्थान मन्दिर उपभोक्ता समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभादेवी खत्वेविरुद्ध १ लाख ५० हजार, कञ्चनीमाई मन्दिर सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेशकुमारीविरुद्ध १ लाख ५१ हजार ४ सय रुपैयाँ, देवी महारानी उपभोक्ता समितिका अध्यक्ष दीपाराजदेवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मीविरुद्ध २ लाख ९७ हजार ७ सय ९४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 

यस्तै रधवा पिपलदेखि सहसौला अनेरभाट क्षेत्रको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्रकुमार झाविरुद्ध १८ लाख ९१ हजार ९ सय, रधवा पिपल हुँदै अनरहेरभाटसम्मको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भूकुमार मण्डलविरुद्ध ३ लाख १ हजार ९ सय १५ रुपैयाँ बिगो कायम गरिएको छ ।

रधवा पिपलदेखि सहसौला–जनता प्रावि विद्यालयतर्फको बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष मञ्जुदेवी पासवानविरुद्ध २१ लाख ९३ हजार ८ सय १५ रुपैयाँ बिगो कायम गरिएको छ । घुस बापतको रकम पहिल्यै टुंगो लगाएपछि मात्रै सांसद सिंहले उपभोक्ता समितिमार्फत काम हुने गरी रकम बाँडफाँट गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully