पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै जेन–जी आन्दोलन दमनमा चार जना प्रत्यक्ष संलग्न रहेको भनी उनीहरूमाथि कारबाहीको माग पनि रिटमा राखिएको छ ।
काठमाडौँ — २३ भदौको जेन–जी आन्दोलन दमनमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
सिन्धुपाल्चोकका युवराज पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै जेन–जी आन्दोलन दमनमा चार जना प्रत्यक्ष संलग्न रहेको भनी उनीहरूमाथि कारबाहीको माग पनि रिटमा राखेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख (महानिरीक्षक) र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानमा अनुसन्धान गर्न आदेशको माग रिटमा गरिएको हो । उक्त कार्य गर्न अवरोध सिर्जना गर्ने गरी नेपाल सरकार वा कुनै मन्त्रालयबाट निर्णय भएको रहेछ भने खुलाउन लगाई सो निर्णय बदर गर्न माग गरिएको छ ।
२३ गतेको आन्दोलनमा चरम दमन राज्यका तर्फबाट भएको र गोली प्रहार पनि सोही अनुसार भएको दाबी रिटमा गरिएको छ । यसरी दमन र गोली प्रहार गर्नेहरु माथि तत्काल अनुसन्धान गर्नु भनि प्रहरीका नाममा अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ । रिट पेस भएको र दर्ता बारे छलफल भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । त्यसबाहेक ९ थान रिट विघटन बदरको माग राखेर आएका छन् ।
