मङ्सिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन दिने तयारी भएको हो।
काठमाडौँ — नेपाली कांग्रेसका विशेष महाधिवेशन माग गर्ने पक्षधरहरूले पार्टी सभापति शेरबहादुर देउवामाथि नैतिक दबाब बढाउन ५२ प्रतिशत केन्द्रीय महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै आज लिखित निवेदन दर्ता गर्ने तयारी गरेका छन्।
मङ्सिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन दिने तयारी भएको हो।
अभियानका नेतृत्वकर्ता गुरुराज घिमिरेले केन्द्रीय महाधिवेशनका ५२ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर जुटिसकेको बताए। ५२ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दा सभापति देउवादेउवालाई नेतृत्वमा रहिरहन नैतिक संकट उत्पन्न हुने देखिन्छ।
देउवा १४औं राष्ट्रिय महाधिवेशनबाट यिनै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको बहुमतले सभापतिमा निर्वाचित भएका थिए। ती प्रतिनिधिहरूकै बहुमतले अब विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको अवस्थामा देउवामाथि नैतिक संकटमा उत्पन्न हुने भएको हो।
घिमिरेले कान्तिपुरसँगको कुराकानीमा भने, ‘हिजै दर्ता गराउने हाम्रो योजना थियो। त्यसका लागि दिउँसो २ बजे समय पनि लिएका थियौं। तर, उपसभापति पूर्णबहादुर खड्काले केही समय पर्खिदिन अनुरोध गर्नुभएकाले रोकिएका हौं। आज हामी दर्ता गर्छौं। केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिनासाथ दर्ता गर्ने भनेर हामी तयारी अवस्थामा छौं।’
यो निवेदन दर्ता भएपछि पार्टीको केन्द्रीय समितिमा छलफलको विषय बन्ने र विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्था उत्पन्न हुन्छ । पार्टीको विधानमा ४०परिषद् प्रतिनिधित्वको हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।
