कांग्रेसका जेनजी युवाको माग : संविधान संशोधन गरेर नयाँ पुस्ताका लागि ढोका फराकिलो बनाइयोस्

जेन–जी समूहले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले आफ्नै संरचना र कार्यशैलीमा आमूल सुधार गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

The demand of Genji Yuva of Congress: The door should be widened for the new generation by amending the constitution

What you should know

काठमाडौँ — नेपाली कांग्रेसभित्रका जेन–जी समूहका युवाहरूले पार्टीभित्र विधान संशोधनमार्फत् नयाँ पुस्ताका लागि बाटो खुला गर्न माग गरेका छन् ।

देशका सातै प्रदेशका विभिन्न समुदायका १९ जना युवाले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौं’ भन्ने अपील गर्दै कांग्रेसभित्र आन्तरिक सुधार र नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक प्रणालीले नागरिकको जीवनमा परिवर्तन ल्याउन सक्छ तर त्यसका लागि शासन मात्र होइन, आत्मानुशासनको संस्कार पनि आवश्यक हुन्छ । पुरानै प्रवृत्तिले नयाँ पुस्ताको विश्वास जित्न सक्दैन, हामी पुरानो ढाँचा भत्काएर नयाँ सोचका साथ अघि बढ्न चाहन्छौं ।’

जेन–जी समूहले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले आफ्नै संरचना र कार्यशैलीमा आमूल सुधार गर्नुपर्ने धारणा व्यक्त गरेको छ । उनीहरूले पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गर्न, प्रतिनिधिहरूको आचरण मूल्यांकन गर्न, र विगतका प्रवृत्तिहरूको समीक्षा गरेर भविष्यका जनप्रतिनिधिका लागि स्पष्ट मापदण्ड तयार गर्न माग गरेका छन् ।

भदौ २३ गते नयाँ बानेश्वरमा भएको प्रदर्शनमा अत्यधिक बल प्रयोग र त्यसपछिका घटनामा निष्पक्ष छानबिन गर्न, दोषी पहिचान गरी कारबाही गर्न पार्टी नेतृत्वलाई आग्रह गरिएको छ। भदौ २४ गतेको प्रदर्शनमा घुसपैठ गर्दै तोडफोड र आगजनीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।

भ्रष्टाचारविरुद्ध स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने र त्यसका सबै प्रकरणमा निष्पक्ष छानबिन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जेन–जी समूहको धारणा छ । उनीहरूले नियमित वा विशेष महाधिवेशन चाँडै आयोजना गरी परम्परागत पार्टीबाट आधुनिक सोचसहितको पार्टीका रूपमा अघि बढ्ने मार्गचित्र सार्वजनिक गर्न पनि सुझाव दिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully