आन्दोलनमा अज्ञात समूहको सक्रियताले समाजमा संशय

आन्दोलनमा देखिएका अनेक दृश्य र समूहमाथि त्यति बेलैदेखि अनेक प्रश्न उठे पनि प्रहरीले ढिलो मात्र अनुसन्धान सुरु गरेको छ।

आश्विन २७, २०८२

गौरव पोखरेल, दया दुदराज

Suspicion in the society due to the activity of unknown groups in the movement

What you should know

काठमाडौँ — २३ भदौमा जेन–जी आन्दोलन भइरहँदा कालो टिसर्ट र ज्याकेट लगाएको एउटा समूह मोटरसाइकल हुइँक्याउँदै आइपुगेको थियो । उनीहरूको टिसर्ट र ज्याकेटमा ‘टीओबी’ लेखिएको थियो । कतिपयले ‘टीओबी’ अंकित कालो झन्डासमेत बोकेका थिए । साइलेन्सर पड्काउँदै अघि बढेका ती युवाले भीडलाई उत्तेजित बनाएर शान्तिपूर्ण आन्दोलनलाई बिथोलेको आरोप लाग्दै आएको छ । आन्दोलनमा देखिएका अनेक यस्ता दृश्य र समूहमाथि त्यति बेलैदेखि अनेक प्रश्न उठे पनि प्रहरीले ढिलो मात्र अनुसन्धान सुरु गरेको छ । 

‘टीओबी’ का विषयमा संशयपूर्ण चासो र चर्चा बढेपछि कान्तिपुरले ‘ओपन सोर्स इन्टेलिजेन्स’ (ओसिन्ट) विधि प्रयोग गरेर खोजी गर्दा सम्बन्धित अनेक भिडियो फेला परेका छन् । ती भिडियो हेर्दा २३ भदौको प्रदर्शनमा आएका ‘टीओबी’ समूहका युवामध्ये प्रायः ले ‘रोयल इन्फिल्ड’ चलाएका थिए । केही युवाले कालो नकाब लगाएको पनि देखिन्छ । 

समूहको नेतृत्व लामो कपाल, हातभरि ट्याटु भएका र कानमा रिङ लगाएका व्यक्तिले गरेका थिए । उनको नाम तेन्जिङ दावा लामा रहेको पुष्टि भएको छ । मोटरसाइकलमा रहेका अन्यले लगाएको टिसर्टमा ‘टीओबी’ मात्रै लेखिएको भए पनि तेन्जिङले लगाएको टिसर्टमा ‘टीओबी’ सँगै ‘टिबेटियन ओरिजिनल ब्लड’ (तिब्बती मूलको रगत) पनि लेखिएको छ ।

Suspicion in the society due to the activity of unknown groups in the movement

उनले मोटरसाइकलमा रहेका युवालाई निर्देशन दिइरहेको भिडियो पनि सामाजिक सञ्जालमा भेटिन्छ । केही भिडियोमा उनले ‘वाकीटकी’ बोकेको देखिन्छ । तेन्जिङ कतै संयमित देखिन्छन् त कतै भड्काउ गतिविधि गरिरहेका हुन्छन् । कतै उनले ‘ढुंगामुढा गर्न हुन्न’ पनि भनेका छन् । एक भिडियोमा उनले ‘हाम्रो देश, हाम्रो राज’ भनेको सुनिन्छ । अर्को भिडियोमा तेन्जिङले भनेका छन्, ‘सबै जना दाजु, दिदीबहिनीहरू हैन, यहीँ बसौं, कोही भाग्नु पर्दैन । बाइकहरू एक–एक लस्करै बाटोमा राखौं है । मान्छेहरू पछाडि नै राखौं है ।’ 

तर उनले अश्लील शब्द प्रयोग गर्दै भीड वातावरणलाई उत्तेजित बनाएका भिडियो पनि छन् । खबर बुलेटिन टीभी नामक फेसबुक पेजमा २४ भदौमा पोस्ट भएको एउटा भिडियोमा उनले भनेका छन्, ‘बालै भएन, ...भोलि चौकी जान तयार छु तर हैन... तर मलाई मेरो देश फिर्ता चाहियो... । मेरो देश, मेरो सान ।’ 

तेन्जिङले लगाएको टिसर्टमा लेखिएको ‘टिबेटियन ओरिजिनल ब्लड’ नामकै फेसबुक ग्रुप पनि छ, जुन सन् २०१२ मा खोलिएको हो । यो सामग्री तयार पार्दासम्म ‘टिबेटियन ओरिजिनल ब्लड’ ग्रुपमा १५ सय सदस्य छन् । यो ग्रुप ‘फ्री तिब्बत मुभमेन्ट’ का समर्थकको रहेको पाइएको छ । ग्रुपको परिचय खण्डमा लेखिएअनुसार विश्वभरका तिब्बती र ‘फ्री तिब्बत मुभमेन्ट’ का समर्थक जोडिन सक्छन् ।

Suspicion in the society due to the activity of unknown groups in the movement

त्यहाँ लेखिएको छ, ‘टिबेटियन ओरिजिनल ब्लड' एउटा फोरम हो जहाँ विश्वभरका तिब्बती र स्वतन्त्र तिब्बतका समर्थक जोडिन सक्छन् । विचार साझा गर्छन्, राजनीति र दर्शनदेखि संगीत तथा तिब्बत र बाहिरका वर्तमान घटनासम्मका विस्तृत विषयमा छलफल गर्छन् । यो ब्लग कुनै पनि व्यक्ति, संस्था, राजनीतिक दल, गुट वा सम्प्रदायको स्वामित्वमा छैन ।’

Suspicion in the society due to the activity of unknown groups in the movement

त्यस ग्रुपमा २९ अक्टोबर २०१४ मा ‘फ्री तिब्बत’ लेखिएका दुई वटा फोटो पोस्ट गरिएका छन्, जसको क्याप्सनमा ‘फ्री तिब्बत टिल डाई’ (प्राण रहेसम्म स्वतन्त्र तिब्बत) लेखिएको छ । त्यही दिन दलाई लामाको भनाइसहित ३ फोटो र तिब्बती भाषाका सामग्री पनि पोस्ट गरिएको छ । ग्रुपमा दलाई लामा र ‘फ्री तिब्बत मुभमेन्ट’ सँग सम्बन्धित सामग्री धेरै भेटिन्छ । 

यस ग्रुपमा तेन्जिङ छेरिङ बाइत्साङ, तेन्जिङ गाफेल र तेन्जिङ तिब्बत राब्याङ एडमिन (ग्रुप सञ्चालक) छन् । यीमध्ये तेन्जिङ छेरिङ बाइत्साङ, तेन्जिङ गाफेलको एकाउन्ट अहिले लक छ । तर यो एकाउन्टका तेन्जिङ र काठमाडौंको प्रदर्शनका ‘टीओबी’ ज्याकेट लगाउने तेन्जिङ भने फरक–फरक व्यक्ति भएको देखिन्छ । 

‘टिबेटियन ओरिजिनल ब्लड’ फेसबुक ग्रुपका सञ्चालक तेन्जिङ तिब्बत राब्यांगको ठेगाना भारतको हिमाञ्चलस्थित धर्मशाला रहेको उल्लेख छ । त्यस एकाउन्टको बायोमा ‘स्टुडेन्ट फर फ्री तिब्बत’ मा काम गर्ने उल्लेख छ । ‘स्टुडेन्ट फर फ्री तिब्बत’ पनि ‘फ्री तिब्बत मुभमेन्ट’ कै हिस्सा हो ।

तेन्जिङ तिब्बत राब्यांगको एकाउन्टमा दलाई लामासँगका तस्बिरहरू पोस्ट भएका छन् । त्यस एकाउन्टबाट ९ डिसेम्बर २०१२ मा ‘सोलिडारिटी विथ तिब्बत’ लेखिएको पोस्ट गरिएको छ । तर १२ जुलाई २०१८ देखि यो एकाउन्ट निष्क्रिय देखिन्छ । 

Suspicion in the society due to the activity of unknown groups in the movement

यता जेन–जी प्रदर्शनमा सबैभन्दा सक्रिय देखिएका तेन्जिङको ज्याकेटमै टीओबी र फुल फर्ममा टिबेटियन ओरिजिनल ब्लडसमेत लेखिएको भए पनि यो समूहले आफूहरू ‘टिबेटियन मुभमेन्ट’ बाट फरक रहेको दाबी गरेको छ । सामाजिक सञ्जालमा हेर्दा टिकटकमा ‘टीओबी ब्लड’ नामक एकाउन्ट र इन्स्टाग्राममा ‘टीओबी’ नामक एकाउन्ट भेटिएका छन् । टिकटक एकाउन्ट गत अप्रिलदेखि सक्रिय छ भने इन्स्टाग्राम मार्चदेखि । इन्स्टाग्राम एकाउन्टको बायोमा ‘दी ओरिजिनल ब्रदर्स’ लेखिएको छ ।  तर ‘टीओबी ब्लड’ लेखिएको टिकटक एकाउन्टमा भने आन्दोलनका भिडियो र फोटो पनि अपलोड गरिएको छ । यसरी टिकटक एकाउन्ट टिबेटियन ओरिजिनल ब्लडकै रूपमा प्रस्तुत गरिएको छ । 

फेसबुक ग्रुप र अन्य सामाजिक सञ्जाल एकाउन्ट हेर्दा टीओबीको पूरा रूप फरक–फरक भेटिएपछि कान्तिपुरले ‘टीओबी’ समूहका सदस्यलाई सम्पर्क गर्‍यो । ती सदस्यले आफूहरू ‘टिबेटियन ओरिजिनल ब्लड’ नभएर ‘दी ओरिजिनल ब्रदर्स’ रहेको दाबी गरे । ती सदस्यले कान्तिपुरसँग भने, ‘यो बाइकर्स ग्रुप हो । हामी लगभग दुई वर्ष अगाडिदेखि सक्रिय छौं । हाम्रो बाइकर्स ग्रुपमा विभिन्न कास्ट (जात) का १ सय जना जति सदस्य छौं । अहिले आएको विवाद तथ्यभन्दा परको छ ।’ आफूहरू पनि जेन–जी पुस्ताकै भएका कारण आन्दोलनमा पुगेको ती सदस्यले बताए । 

ती सदस्यले आफ्नो समूहका नेतृत्वकर्ता तेन्जिङ दावा र हाकिम भएको बताए । सुरेन्द्र गुरुङ उर्फ हाकिम र्‍यापर हुन् । हाकिमले पनि आफू त्यस समूहको सल्लाहकार भएको बताए । ‘भाइहरूले आग्रह गरेपछि मैले उनीहरूलाई सहयोग गरेको मात्रै हो । उनीहरूको बाइकर्स ग्रुप हो टीओबी । त्यस ग्रुपले बाइकिङ गर्छ । कुनै आधिकारिक वा कतै दर्ता भएको संस्था होइन । यो लगभग २ वर्षअघि सुरु भएको हो ।’

Suspicion in the society due to the activity of unknown groups in the movement

कान्तिपुरलाई प्राप्त दस्ताबेजअनुसार दावा २१ माघ २०५३ मा काठमाडौंमा जन्मिएका हुन् । उनी आफ्नो पुर्खा तिब्बती हुनुमा गर्व गर्छन् । तर, उनले लगाएको ज्याकेटमा अंकित शब्दावली र ‘फ्री तिब्बत मुभमेन्ट’ बारे प्रश्न गर्दा हाकिमले आफूहरू ‘फ्री तिब्बत मुभमेन्ट’ सँग सम्बन्धित नभएको बताए । ‘त्यो फेसबुक ग्रुपबारे हामीलाई केही थाहा छैन । तेन्जिङ भाइको बाजे, बराजुचाहिँ तिब्बतको हो । पहिचान देखाउने हिसाबले उसले ज्याकेट लगाएर गएको हो, मैले त यस्तो झमेला हुन सक्छ है पनि भनेको हो । तर बाइकर्स ग्रुप हो भनेर गए । तर यो समूहको अन्य कुनै सम्बन्ध छैन ।’

तेन्जिङ दावा पेसाले ट्याटु आर्टिस्ट रहेको पाइएको छ । उनले सन् २००८ देखि बौद्धमा ट्याटु आर्टिस्टका रूपमा काम गर्दै आएका छन् । तेन्जिङले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पनि ट्याटुसम्बन्धी काम गरेको देखिन्छ । तर उनले बिजुलीबजारको पुलमा पिस्तोल बोकेको फोटो/भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । समग्र विवाद बढेपछि उनी आइतबार प्रहरीको सम्पर्कमा पुगेका थिए । प्रहरीले थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।  

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले सार्वजनिक भिडियोका विषयमा प्रहरी अनुसन्धान भइरहेको पुष्टि गरे तर उनले विस्तृत विवरण खुलाएनन् । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा आइतबार अबेरसम्म सोधपुछ नसकिएपछि दावालाई हिरासतमै राखिएको छ ।

दावाले पिस्तोल सक्कली नभएको प्रहरीलाई बताएका छन् । ‘उनले सक्कली होइन भनेका छन् तर त्यो पिस्तोलको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेर त्रास फैलाउने काम भएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘सोमबार फेरि कतिपय कुरा भेरिफाई गर्छौं अनि के गर्ने भन्ने टुंग्याउँछौं ।’ 

ती प्रहरी अधिकृतका अनुसार अहिले भाइरल भएको भिडियो २३ भदौको नभएर गत अप्रिलको हो । ‘आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसको भूमिका रहस्यमय रहेको भन्दै चर्चा हुन थालेपछि त्यस्ता टिसर्ट लगाउनेबारे खोजी हुन थाल्यो, त्यही क्रममा पुरानो भिडियो भाइरल भएको हुन सक्छ,’ ती प्रहरी अधिकृतले भने ।

काठमाडौं प्रहरी परिसरका एक अधिकृत भन्छन्, ‘टीओबीको पूरा नाम नै के हो भन्नेमा पनि फरक–फरक तथ्य आएका छन्,’ उनले भने, ‘तर त्यस्तो टिसर्ट लगाएका व्यक्तिले हतियार बोकेको पनि देखियो । यो अनुसन्धानको विषय हो, जुन गरिरहेका पनि छौं ।’ 

सुदनमाथि पनि प्रश्न 

जेन–जी आन्दोलनपछि जंगीअड्डा, शीतलनिवासमा भएका प्रायःजसो छलफलमा अग्रपंक्तिमा देखिएका सुदन गुरुङमाथि पनि प्रश्न उठेको छ । त्यसको कारण हो– उनको संस्था ‘हामी नेपाल’ र ‘स्टुडेन्ट्स अफ अ फ्री तिब्बत’ नामको संस्थाको सहकार्य । अमेरिकाको न्युयोर्कमा सन् १९९४ मा तिब्बती र युवा विद्यार्थी समर्थकले स्थापना गरेको ‘स्टुडेन्ट्स अफ अ फ्री तिब्बत’ संस्थाले शुभेच्छुक भन्दै आफ्नो वेबसाइटमा ‘हामी नेपाल’ लाई पनि राखेको छ ।  

Suspicion in the society due to the activity of unknown groups in the movement

‘स्टुडेन्ट्स अफ अ फ्री तिब्बतको वेबसाइटमा प्रस्ट लेखिएको छ– ‘तिब्बती जनताको स्वतन्त्रताको लडाइँको संघर्षका पक्षमा एकजुट ।’ त्यस्तै उद्देश्यबारे प्रस्ट भनिएको छ, ‘हामी शिक्षा र अहिंसात्मक कार्यबाट तिब्बतीहरूको राजनीतिक स्वतन्त्रताको मौलिक अधिकारका लागि अभियान चलाउँछौं ।’ 

नेपाल एक चीन नीतिका पक्षमा प्रतिबद्ध रहँदै आएको छ । एकअर्का देशको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्ने सिद्धान्तअनुसार नेपालमा हुने फ्री–तिब्बतसँग सम्बन्धित गतिविधिलाई नेपालमा निषेध गरिन्छ । त्यस्तोमा ‘हामी नेपाल’ को फ्री–तिब्बतसँग देखिएको सम्बन्धलाई लिएर ‘हामी नेपाल’ माथि प्रश्न उठेको छ ।

सुदनले भने फ्री–तिब्बत र ‘टीओबी’ सँग जोडेर आफूहरूलाई बदनाम मात्र गर्न खोजिएको भन्दै खण्डन गरेका छन् । ‘हामी नेपालले त्यस्तो कुनै पनि संस्थासँग एक डलर पनि सहयोग ल्याएको छैन, यूएसएआईडीदेखि कुनचाहिँ आईएनजीओसँग हामीले पैसा लिएका छौं ? एक रुपैयाँ, एक डलर मात्र विदेशी आईएनजीओबाट लिएको देखाउनू,’ उनले चुनौती दिएका छन् । उनले वेबसाइटसमेत निर्माणका क्रममा रहेकाले पारदर्शी रूपमा विस्तृत विवरण पनि सार्वजनिक गर्ने बताएका छन् ।

०००

'मेरो थर पौडेल, थापा वा भट्टराई भएको भए प्रश्न उठ्दैनथ्यो’

Suspicion in the society due to the activity of unknown groups in the movement

जेन–जीको प्रतिनिधित्व गर्दै मन्त्री बन्ने चर्चासँगै टासी ल्हाजोम विवादमा तानिएकी छन् । विवाद किन र कसरी उठ्यो ? उनको पृष्ठभूमि के हो ? कान्तिपुरले टासीसँग गरेको कुराकानी : 

मन्त्री हुने चर्चासँगै तपाईंको नाम र नागरिकता विवादमा परेको छ नि ? 

म जनजाति भएकै कारणले होला । किनकि मेरो नाम टासी पौडेल, थापा, भट्टराई वा घिमिरे भएको भए यस्तो कुरा उठ्दैनथ्यो होला । तर म टासी ल्हाजोम भएँ । सीमान्तकृत समुदायको भएँ । धेरैजसो नेपालीले नसुनेको ठाउँ लिमी भ्यालीबाट आएँ । त्यो कारणले पनि होला । अनुहारले पनि नेपाली जस्तो देखिन्न भनेर प्रश्न उठाउन थाले । मेरो नेपाली बोली पनि खस जस्तो त छैन । किनकि यो मेरो मातृ भाषा हैन । मेरो पहिचानमा शंका गरेर नाता खुलाउनुपर्‍यो भनिएको छ ।

तपाईंले कोलम्बिया युनिभर्सिटीमा पढेको र उक्त युनिभर्सिटीले तपाईको प्रोफाइलमा टिबेटियन डायस्पोरा भनेर लेखेको रहेछ । अहिले यो विवाद भएपछि तपाईंको प्रोफाइल अचानक हटाइएको छ, यो विषयमा तपाईंको भनाइ के छ ? 

कोलम्बिया युनिभर्सिटीमा म एउटा फेलोसिपमा पुगेको थिएँ । त्यो हरित उद्यमशीलतासँग सम्बन्धित थियो । त्यो फेलोसिप तिब्बतियन र इथनिक तिब्बतियनका लागि पनि थियो । हिमालयन रेन्जमा बस्ने तिब्बतियन र इथनिक तिब्बतियन लगायतलाई दिइने फेलोसिपमा म र अर्का एक नेपाली अनि भारतीयसहितका फेलो थियौं । हामी सबैका बीच सांस्कृतिक रूपमा समानता थियो । युनिभर्सिटीले मेरो प्रोफाइल किन हटायो त्यो त मलाई पनि थाहा छैन । मेरो अनुहार हेरेर अनि मेरो पृष्ठभूमि हेरेर म खस नेपाली जस्तो भइनँ भन्ने कुरा छ । किन हटाएको भन्ने त मलाई थाहा छैन । म त्यहाँ हरित उद्यमशीलतासम्बन्धी सीप सिक्न पुगेकी थिएँ । 

तपाईं कति वर्षअघि त्यहाँ पुग्नुभएको थियो ? 

गत वर्षको कुरा हो । साढे २ साताको कोर्स थियो । म छनोट प्रक्रिया पूरा गरेर र प्रतिस्पर्धाबाट छानिएर पुगेको हो । हामी युवा मिलेर लिमीमा एउटा सहकारी चलाएका छौं, लिमी युनिटी मल्टिपर्पोज कोअपरेटिभ्स सोसाइटी । म यसको संस्थापकमध्येको एक हो । हामीले त्यसबाट ईको टुरिज्म गरिरहेका छौं । किनभने त्यो हाम्रो गाउँका लागि आम्दानी गर्नेमध्येको सबैभन्दा राम्रो बाटो हो । पर्यटन प्रवर्धन गर्न सकियो भने धेरै राम्रो हुने रहेछ भन्ने सोचेर । 

नेपालमा अहिले मूलतः कुन राजनीतिक, गैरराजनीतिक, सामाजिक कस्तो संस्थामा काम गर्नुहुन्छ ? जेन–जी आन्दोलनमा कसरी जुट्नुभयो ? 

जेन–जी आन्दोलनमा मैले हिमालका युवाको नेतृत्व गरेको छु । मैले सक्रिय भएर नेतृत्व गरिनँ भने आगामी दिनमा हाम्रो सहभागिता हुँदैन भन्ने लाग्थ्यो । त्यसैले मैले सुरुमा यसको नेतृत्व गरें । हिमाली क्षेत्रका युवा मात्रै नभएर जनजाति युवालाई नेतृत्व गर्नुपर्छ भनेर मसहितका साथीले इन्डिजिनियस जेन–जी कलेक्टिभ्स सुरु गर्‍यौं । ८ सेप्टेम्बरमा म दिनभर आन्दोलनमा सहभागी भएँ । भोलिपल्ट बौद्धमा हामीले सहिदको सम्झनामा मैनबत्ती बाल्यौं । 

आन्दोलनपछिका दिनमा सीमान्तकृत ठाउँका युवाको कुरा छुट्छ कि भनेर म वार्ता टोलीमा पनि सहभागी भएँ । मानिसहरूले के बुझिरहेका छैनन् भने जेन–जी भनेको कुनै एकल जाति वा समुदायको कुरा हैन । जेन–जीभित्र पनि विविधता हुन्छ । आदिवासी जेन–जी हुन्छ । हिमाली जेन–जी हुन्छ । मधेशी जेन–जी हुन्छ । दलित र मुस्लिम जेन–जी हुन्छ । सबै जेन–जीले एउटै अनुभव बोकेको पनि हुँदैन । सबै जना सरकारसँग आक्रोशित भएका थिए, पारदर्शिता नभएर । तर यहाँ सीमान्तकृत ठाउँका जेन–जीले भ्रष्टाचार र शक्तिको दुरुपयोगबाट थप दुःख पाएको छ । 

मन्त्रीका रूपमा तपाईंको नाम प्रस्ताव भएको चर्चा भयो । नाम कसरी तय भयो ? कसले प्रस्ताव गर्‍यो ? तपाईंसँग सल्लाह के भएको थियो ? 

यस विषयमा केही पनि सरसल्लाह भएको थिएन । हामी त अरू नै साथीलाई पठाउनुपर्छ भनेर लागिरहेका थियौं । मन्त्रिमण्डलमा आदिवासी जेन–जी छुट्छन् कि भन्ने पनि डर थियो । कति जनाले कुलमान घिसिङ भएर पुगेन पनि भनेका थिए । तर उहाँ त ट्र्याक रेकर्डबाट आउनुभएको हो नि । मैले मेरो नाम कहिल्यै पनि प्रमोट पनि गरेको थिइनँ । म त अरू साथीहरू पठाउन चाहन्थें । त्यतिबेला म भारतमा थिएँ, युनिभर्सिटी अफ अक्सफोर्डको रिजनल वर्कसपमा भाग लिन । मैले तीन महिनाअघि नै यो कार्यक्रमको निम्ता पाएको थिएँ । मैले साथीबाट यो कुरा थाहा पाएँ । मैले त साथी र प्रोफेसरहरू भेट्ने भनेर फर्किने टिकट पनि ढिला गरी काटेको थिएँ । 

अहिले जेन–जीको आवाज पनि विभाजित छ, मन्त्रिपरिषद्मा पठाउने नामको विषयमा पनि विवाद चलिरहेको छ, एक महिनासम्म पनि निष्कर्ष आउन सकेको छैन ? यो विषयमा तपाईंहरूको पहल के छ ?

जेन–जी आन्दोलन एकदमै छरिएको आन्दोलन हो । यस्तो मैले कहिल्यै पनि देखेको थिइनँ । यो हाम्रो शक्ति पनि हो र कमजोरी पनि । यति धेरै छरिएको छ कि सबै जनासँग शक्ति छ । तर त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा व्यक्तिगत स्वार्थ र राष्ट्रिय स्वार्थबीच धमिलो रेखा मैले देखिरहेको छु ।

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully