कांग्रेसका युवा नेताले गरे मंसिरभित्र महाधिवेशन गर्न सभापतिको ध्यानाकर्षण

कांग्रेसले तय गर्ने साझा धारणालाई कार्यकर्ता पंक्ति र जन समुदायमा सम्प्रेषण गरिनुपर्ने उनीहरुको माग छ ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

The young leaders of the Congress drew the attention of the chairman to hold the convention within November

What you should know

काठमाडौँ — कांग्रेसका युवा नेताहरुले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै मंसिर मसान्तभित्रै नियमित महाधिवेशन गर्न माग गरेका छन् । उनीहरुले मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको सुनिश्चिता गर्दै समयतालिका आउनुपर्ने माग गरेका छन् ।

‘कांग्रेसको १५ औं महाधिवेशनका सम्बन्धमा विधिवत र नियमित महाधिवेशन मात्र सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम हो । पार्टीको पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो’ युवा नेताहरु रंजित कर्ण, दीपक भट्टराइ, सरोज थापा, मनहरी श्रेष्ठ, बद्री अर्याल, पुष्पकुमार शाही, शिव रिमाल, भूपेन्द्रजंग शाहीलगायतले जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा यो वा त्यो बाहनामा महाधिवेशन गर्न असक्षम भएमा मौजुदा कार्यसमिति भंग गरिनुपर्छ ।’

फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनमा पार्टीको सक्रिय सहभागिता तथा प्रतिनिधिसभाको पुन:स्थापनाको सम्बन्धमा राजनीतिक र एजेन्डागत छलफल गरी पार्टीको आधिकारिक धारणा निर्माण गर्न समेत उनीहरुले माग गरेका छन् । कांग्रेसले तय गर्ने साझा धारणालाई कार्यकर्ता पंक्ति र जन समुदायमा सम्प्रेषण गरिनुपर्ने उनीहरुको माग छ ।

राज्यका विभिन्न ओहदामा पुगेका, लाभको पदमा बसेका व्यक्तिको आर्थिक अनुशासनलाई पारदर्शी बनाउन र ०४६ सालपछि केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोगको गठनको माग गरेका छन् । भविष्यमा पार्टी भित्र कुनै पनि जिम्मेवारी प्राप्त गर्न तथा सार्वजनिक पदको लागि सिफारिस गर्दा पारदर्शीता र स्वच्छ छविको ‘चिट’ प्राप्त व्यक्ति मात्रै उम्मेदवार हुने प्रवन्ध गर्नुपर्ने माग उनीहरुको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully