विपिनका दाइ किशोर भन्छन्– 'हामी अझै आशावादी छौं'

आज छुट्ने बन्दीको नामावलीमा विपिनको नाम छैन भनेर आफूहरुलाई जानकारी आएको तर अन्तिम अवस्थासम्म पनि आफूहरु भने पूर्ण आशावादी रहेको उनका दाइ किशोरले बताए ।

आश्विन २७, २०८२

भवानी भट्ट

Bipin's brother Kishore says – 'We are still optimistic'

What you should know

कञ्चनपुर — इजरायल र हमासबीच युद्धविरामपछि आजदेखि बन्दीहरु रिहाइ गर्ने काम सुरु भइरहेको छ । तर रिहाइ हुने बन्दीमा कञ्चनपुरका विपिन जोशीको नाम भने समावेश छैन । रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभए पनि उनको परिवार भने आशावादी रहेको छ ।

‘आज छुट्ने नामावलीमा नाम छैन भनेर हामीलाई जानकारी आएको छ तर अन्तिम अवस्थासम्म पनि हामी भने पूर्ण आशावादी छौं,’ विपिनका दाई किशोर जोशीले भने, ‘आज २० जना रिहाइ भइरहेका छन्, सबै रिहाइ हुन बाँकी छ, त्यति निराश भइहाल्नुपर्ने ठाउँ छैन ।’

उनका अनुसार सोमबार बिहान इजरायलको युद्धबन्दी सम्बन्धी मामिला हेर्ने एक कर्मचारीले उनलाई फोन सम्पर्क गरेका थिए । उनले नै रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभएको जानकारी दिएका थिए । 

‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा विपिन जीवित नरहेको खबर आइरहेको छ, यसले हामीलाई पीडा दिइरहेको छ,’ उनले भने, ‘मलाई पूर्ण विश्वास भाइ ठीक छ ।’

दुई वर्षअघि अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन इजरायल पुगेका थिए । हमास समूहको आक्रमणमा पनि १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जना अपहरणमा परेका थिए । हमासले बन्धक बनाएकामध्ये विपिन छुट्न बाँकी ४८ मध्ये विपिन एक्ला विदेशी नागरिक हुन् । 

विपिनको रिहाइका लागि पहल गर्न आमा पद्मा र बहिनी पुष्पा हाल अमेरिकामा छन् । यसअघि उनीहरु साउन अन्तिम साता इजरायलसमेत गएका थिए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully