मर्मत गरिँदै सगरमाथा पदमार्ग, जोरसल्ले नाम्चे खण्ड सञ्चालनमा आयो 

असोज १७ देखि १९ सम्म ३ दिनको वर्षापछि गएको पहिरोले विगारेको आधार शिविर जाने पदमार्ग मर्मत गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

आश्विन २६, २०८२

भानुभक्त निरौला

Under repair, Everest trail, Jorasalle Namche section is operational

सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा वर्षातका कारण भत्किएका पर्यटकीय पदमार्ग मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।  गत हप्ता ३ दिनको वर्षातका कारण पहिरो खसेर अवरुद्ध बनेका पदमार्गहरू निर्माण गर्ने क्रममा जोरसल्ले, लार्चा दोभान, नाम्चे पदमार्ग खण्ड मर्मतपछि सञ्चालनमा आएको हो  । 

असोज १७ देखि १९ सम्म ३ दिनको वर्षापछि गएको पहिरोले विगारेको आधार शिविर जाने पदमार्ग मर्मत गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । पर्यटकीय सिजनको समयमा परेको पानीले पदमार्ग बिगारेपछि वैकल्पिक बाटो प्रयोग गर्दै पर्यटकहरू आधार शिविर पुग्ने गरेका थिए ।

अब भने नियमित मार्गबाटै पर्यटकहरू आफ्नो गन्तव्य पुग्न सक्ने गाउँपालिकाले जनाएको छ ।  वर्षातका कारण खुम्बु क्षेत्रमा ६ वटा पदमार्ग पहिरोमा परी भत्किएका थिए । तीमध्ये केही पदमार्ग मर्मत गरी सञ्चालनमा ल्याइएको छ भने अन्य पदमार्गसमेत मर्मत भइरहेको गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

पर्यटकीय सिजनमा आएको प्राकृतिक विपदका कारण पदमार्ग बिग्रँदा पर्यटकले सास्ती खेप्नु परेको पर्यटन व्यसायी निराजन शर्माले बताए । शरद ऋतु (अटम सिजन) को मध्य भागमा अहिले खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल बढी छ । 

भानुभक्त

Link copied successfully