त्रिविको सयौं रोपनी जग्गा पहुँचवालले अतिक्रमण गरेको औंल्याइएको प्रतिवेदन २०८१ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरदेखि लुकाएर राखेका थिए ।
काठमाडौँ — सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ आइतबार सार्वजनिक गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सयौं रोपनी जग्गा पहुँचवालले अतिक्रमण गरेको औंल्याइएको प्रतिवेदन २०८१ मंसिरदेखि लुकाएर राखेका थिए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण गरिएको खुलासा गरेको छ । जग्गा छानबिन तथा खोजबिन समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा वर्षौंदेखि भोगचलनबाहिर रहेको पत्ता लगाएको थियो ।
समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा. प्रेमसागर चापागाईं सदस्य थिए । छानबिनकै क्रममा त्रिताल बिरामी परेपछि थापाले समितिको नेतृत्व गर्दै प्रतिवेदन बुझाएका थिए ।
३ पुस २०८१ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका थिए । उनले विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने प्रतिवद्धता जनाएका पनि थिए ।
ओलीले त्यतिबेला सामाजिक सञ्जालमा लेखेका थिए, 'एउटा संयोग - २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो । आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ। त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्नेछ।'
सार्वजनिक प्रतिवद्धता जनाएपनि ओली सरकारले न त यो प्रतिवेदन सार्वजनिक गर्यो न त यसमा टेकेर थप अनुसन्धान र कानूनी कार्वाहीको प्रक्रिया नै अगाडी बढाए ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठ :
![Trivi Land Search Report [Full Text]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/554967513791818727103676455756623075018963n-12102025033626-1000x0.png&w=1001&h=0)