प्रसिद्ध धार्मिक तथा पर्यटकीय कुण्ड दूधकुण्डको शिरमा रहेको नुम्बुर हिमाल आरोहणका लागि खुल्ला भएसँगै त्यहाँ आरोहणका लागि टोलीसमेत पुगिसकेको छ ।
What you should know
सोलुखुम्बु — सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाभित्र रहेको नुम्बुर हिमाल आरोहणका लागि खुल्ला भएको छ । यसअघिसम्म आरोहणका लागि बन्द रहेको हिमाल नेपाल सरकारसँग स्थानीय सरकारले गरेको पहलपछि खुल्ला गरिएको हो ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय कुण्ड दूधकुण्डको शिरमा रहेको नुम्बुर हिमाल आरोहणका लागि खुल्ला भएसँगै त्यहाँ आरोहणका लागि टोलीसमेत पुगिसकेको छ । ६ हजार ९ सय ५७ मिटर अग्लो हिमाल आरोहणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा नै पर्यटन विभागले खुल्ला गरिसकेको छ ।
सोलुदूधकुण्ड नगरपालिकाको प्रत्यक्ष क्षेत्राधिकारभित्र पर्ने र रामेछाप जिल्लासँग समेत सिमाना जोडिएको हिमाल नुम्बुरको आरोहणका लागि खुल्ला भएकोले पोल्यानड, अस्ट्रेलियासहित केही देशका आरोही सम्मिलित आरोहण टोली आरोहणका लागि त्यहाँ पुगिसकेको पर्यटन व्यवसायी फुछिरी शेर्पाले बताए । उक्त टोलीले खाटाङ हिमाल र नुम्बुर हिमाल दुवैको आरोहण गर्ने छ ।
खोटाङ हिमाल यसअघि पनि आरोहण भइसकेको तर नुम्बुर हिमाल भने हालसम्म आरोहण नभएकाले टोली अहिले प्राविधिक चेकसहितको काममा रहेको पनि जनाइएको छ । हिमाल आरोहण आफैंमा जोखिमपूर्ण काम भएकाले हतारो नगरी चढ्न सुझाव दिएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए ।
हिमाल आरोहण खुल्ला भएसँगै नगरपालिकाले पर्यटनको क्षेत्रमा अर्को फड्को मारेको मेयर शेर्पाको जिकिर छ । 'कहिल्यै आरोहण नभएको हिमाल समेत पटक-पटकदेखि आरोहणका लागि आरोही जानु भएको छ, यसले नगरपालिकाको पर्यटन क्षेत्रमा अर्को महत्त्वपूर्ण योगदान गर्ने छ,' मेयर शेर्पाले भने ।
नगरपालिकाको अनुरोध र आवश्यकता महसुस गरि नुम्बुर आरोहणका लागि खुल्ला गरिएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले बताए ।
