पोस्टमार्टम रिपोर्ट आउनुअघि नै पति खगेन्द्र यादव र ससुरा मदन यादवलाई प्रहरीले छोडेको छ ।
What you should know
काठमाडौँ — शंकास्पद मृत्यु भएकी सप्तरीको बलान बिहुल गाउँपालिका–२ पथराहाकी २० वर्षीया नवविवाहिता कृषलाकुमारी यादवको पोस्टमार्टम रिपोर्ट आउनुअघि नै पति खगेन्द्र यादव र ससुरा मदन यादवलाई प्रहरीले छोडेको छ । गत बुधबार बिहान कृषला आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
गत वैशाख २५ मा कृषलाको सामाजिक परम्पराअनुसार विवाह भएको थियो । कृषलालाई बाबु राजकुमार यादवका अनुसार उनले १० लाख नगद, आधा तोला सुन, एक लाख ६० हजारको फर्निचर र ८० हजार रुपैयाँको लत्ताकपडा गरी १५/१७ लाख रुपैयाँ खर्च गरेर छोरीको विहे गरेका थिए ।
उनले दाइजोकै कारण छोरी हिंसामा परेको र उनको हत्या गरेको दाबी गर्दै आएका छन् । प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आउनुअघि नै पक्राउ परेकाहरुलाई छोडिदिएको छ । राजकुमारले राजनीतिक दबाबमा आरोपितलाई छोडिएको बताउँदै प्रमाण नस्ट हुने सम्भावना बढेको बताए ।
इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर गजेन्द्र रायमाझीले दुवै जनालाई किरिया गर्नका लागि छाडिएको बताए । ‘तत्काललाई गाउँपालिका अध्यक्षज्यूको जिम्मामा दुवै जनालाई छाड्यौं तर अनुसन्धान रोकिएको छैन,’ उनले भने, ‘जाहेरी नआए पनि पोस्टमार्टम रिपोर्ट आएपछि हामी त्यहीअनुसार कानुनी प्रक्रिया पूरा गर्छौं नै ।’
नवविवाहत बुहारीको शंकास्पद मृत्युको घटना सप्तरीका निम्ति नयाँ भने होइन । गत भदौ १४ मा महादेवा गाउँपालिका–१ सोनराकी नवविवाहिता २१ वर्षीया दीपाकुमारी यादवको शंकास्पद मृत्यु भएको थियो । यो घटनामा पनि कृषलाको जस्तै प्रवृत्ति देखिएको थियो । बिरामी परेको भन्दै पति दिपक र ससुरा पर्शुरामसहितकाले दीपालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएका थिए । तर अस्पताल ल्याउनुअघि नै दीपाको मृत्यु भइसकेको थियो भने उनको शरीरमा चोटपटक र घाँटीमा नीलडाम देखिएको थियो ।
यो घटनामा प्रहरीले सोही दिन पति दीपककुमार यादव र ससुरा पर्शुराम यादवलाई नियन्त्रणमा लिएको थियो । अनि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाए पनि रिपोर्ट भने अझै आएको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपकले घटना स्वकारिसकेको बताए । उनले झगडाका क्रममा सलले घाँटी कस्दा दीपाको मृत्यु भएको बयान दिएका छन् ।
